पाटन दरबार क्षेत्रका ८ स्मारकको पुनर्निर्माण
ललितपुर- पाटन दरबार क्षेत्रका ८ वटा स्मारकको निर्माण सम्पन्न भएको छ । १२ वैशाख ०७२ को भूकम्पभन्दा केही समय अघिदेखि पुनर्निर्माण शुरु भएको थियो ।
पाटनको कृष्ण मन्दिरसँगै बहादुर शाहको बैठक, मूलचोकको तलेजु मन्दिर र सुन्दरीचोकको पूर्वी भागको पुनर्निर्माण सकिएको हो । दुई मणिमण्डप र दुई स्तम्भको पनि काम सम्पन्न भइसकेको छ । भीमसेन मन्दिरअघिको सिंहस्तम्भ र योगनरेन्द्र मल्लको शालिकको पनि निर्माण सकिइएको छ ।
ललितपुरमा रहेका स्मारकमध्ये कुनैको पुनर्निर्माण काठमाडौं उपत्यका संरक्षण कोष, कुनै गुठी संस्थान र कुनैको स्थानीय समुदायले गरिरहेका छन् । कोषले जिल्लाका ११ स्मारक पुनर्निर्माणको जिम्मेवारी लिएको थियो । तीमध्ये ३ वटाको काम धमाधम भइरहेको छ । आगामी एक वर्षभित्र निर्माण सक्ने गरेर तिनको पुनर्निर्माण भइरहेको छ। चार नारायण, हरिशंकर र विश्वनाथ मन्दिरको निर्माणको अधिकांश काम सकिएको छ । आगामी वर्षसम्म सबै काम सम्पन्न भइसक्ने पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।
चार नारायण र हरिशंकर मन्दिर कोषले नै बनाइरहेको छ । विश्वेश्वर मन्दिरको पुनर्निर्माण पाटन सांस्कृतिक समाजले गरिरहेको छ । यसको प्राविधिक पक्ष कोषले हेरिरहेको छ । कोषले जिम्मेवारी लिएका स्मारकको पुनर्निर्माण भने सम्झौता भएभन्दा चाँडो सकिने कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए।
कोषले भूकम्पभन्दा पहिलेदेखि पाटनमा रहेका स्मारकको मर्मत गरिरहेको थियो । सोही कारण पाटनमा भक्तपुर र काठमाडौंका दरबार क्षेत्रमा भन्दा कम क्षति पुगेको हो ।
गुठी संस्थान आफैं वा दातृ निकायको सहयोगमा निर्माण भइरहेका स्मारकको पुनर्निर्माणको गति भने सुस्त छ । यसअघि लुभूको महालक्ष्मी सत्तल र पिलाछें गणेशको पुनर्निर्माण सकिए पनि अरू स्मारकको काम सुस्त छ । विभागले उपभोक्ता समितिलाई जिम्मा दिएको कुम्भेश्वर र राधाकृष्ण मन्दिरको काम ढिलो भइरहेको छ ।
कुम्भेश्वर मन्दिर पुनर्निर्माणका लागि पहिले स्थानीयवासीका कारण ढिलो भएको थियो । कति तलासम्म भत्काएर मन्दिर पुनर्निर्माण गर्ने र त्यहाँको सामानको सुरक्षाले विषयका कारण काम शुरु हुनै समय लाग्यो । नेपाल प्रहरीले सामानको सुरक्षा गर्ने र क्षति पुगेका तलामा मात्रै काम गर्ने भन्ने सहमतिपछि पुनर्निर्माण शुरु भएको थियो ।
श्रीलंकाको सहयोगमा निर्माणाधीन रातो मछिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सम्झौता सकिएर थपिएको अवधिमा समेत पूरा नहुने भएको छ । ठेकेदारमार्फत् काम भइरहेका ठाउँमा ठेकेदारले अनेक बहाना गरेर काममा ढिलाइ गर्दै आएको कार्यालयले जनाएको छ । कहिले निर्माण सामग्री त कहिले कामदारको अभाव या कहिले स्थानीयवासीको अवरोध भन्दै ढिलाइ भइरहेको हो । “हामीले चासो राख्दा केही काम भए पनि त्यसपछि फेरि रोकियो,” प्रमुख प्याकुरेलले भने। रासस