सरकारले राजदूत थापालाई फिर्ता बोलायो, मन्त्रिपरिषद्का २२ निर्णय (सूचीसहित)
सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जनकुमार थापालाई फिर्ता बोलाएको छ ।
२५ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले राजदूत थापालाई २१ दिनको तयारी म्याद दिई फिर्ता बोलाउने निर्णय गरेको हो ।
राप्रपाका नेतासमेत रहेका थापालाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले राजदूतमा नियुक्त गरेको थियो ।
थापा साइप्रसका लागि गैरआवासीय राजदूत समेत थिए । थापाको स्थानमा डा. अञ्जान शाक्यलाई राजदूत बनाउन मन्त्रीपरिषद्ले सिफारिस गरेको छ ।
बिहीबार (आज) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गर्दै गत आइतबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको हो ।
यसअघि, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नगरेकोमा व्यापक आलोचना गरिएको थियो ।
सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्णय परिपक्क भएपछि मात्रै सार्वजनिक गर्ने बताएका थिए ।
अब सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय हरेक बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ ।
२५ कात्तिकको मन्त्रिपरिषद् बैठकले राजा वीरेन्द्र र उनको परिवारको काठमाडौं र भक्तपुरको ७१ रोपनी जग्गा पनि नेपाल ट्रस्टको नाममा कायम गरेको छ ।
त्यस्तै, गरिबी निवारण कोषको पुनर्संरचनासम्बन्धी कार्ययोजना स्वीकृत गरी कोषलाई भूमीसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत ल्याउने निर्णय पनि गरेको छ ।
यसअघि कोष प्रधानमन्त्री कार्यालयअन्तर्गत थियो । मन्त्रिपरिषद् बैठकले २२ वटा निर्णय गरेको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए ।