रुपन्देहीः दश दिनभित्र ६ जनाको हत्या
रुपन्देहीमा दश दिनभित्र ६ जनाको हत्या भएको छ भने आक्रमणबाट २ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार १० देखि १९ कात्तिकसम्ममा ३ महिला र ३ पुरुषको हत्या भएको हो । लुटेरा समूहको आक्रमणबाट मात्र छुट्टाछुट्टै स्थानमा २ जनाको हत्या र २ जना घाइते भएका छन् ।
अन्य विवादमा ४ जनाको हत्या भएको छ । लगातारको हत्या र आक्रमणका घटनाले स्थानीय त्रसित छन् ।
प्रहरीले भने छुट्टाछुट्टै स्थानमा घटना भएको र सुरक्षा संयन्त्र बलियो बनाएकाले डराउनु नपर्ने बताएको छ ।
प्रहरीले घटनामा संलग्न २ जनालाई मात्रै पक्राउ गरेको छ । पक्राउ पर्नेमा पतिको हत्यामा संलग्न बुटवल ४ मा डेरा गरी बस्ने कपिलवस्तु वुद्धबाटिकाकी कुमारी चौधरी र साथीको हत्या गर्ने रुपन्देहीको सैनामैनाका सन्तोष थापा मगर रहेका छन् ।
आज बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही प्रहरी प्रमुख बुद्धिराज गुरुङले हत्यामा संलग्न अन्य समूहको खोजी जारी रहेको बताए ।
दीपक ज्ञवाली, बुटवल