फिजीको चुनावमा सत्तारुढ दललाई बहुमत
सुभा- फिजीको संसदीय चुनावमा प्रधानमन्त्री फ्रान्क बैनीमारामाको सत्तारुढ दलले स्पष्ट विजय हासिल गरेको देखिएको छ । सन् २००६ मा सत्ता विद्रोह गरी प्रधानमन्त्री भएका ६४ वर्षीय फ्रान्कले त्यसयता भएका चुनावमा लगातार विजय हासिल गर्दै आएका छन्।
सन् १९८७ देखि २००६ सम्म चार वटा मात्र सरकार गठन भएका थिए। मुलुकमा अस्थिरता बढेपछि पूर्वसैनिक फ्रान्क बैनीमारामाले रक्तपातविहीन ढंगबाट सत्ता हत्याएका थिए।
दुई तिहाइ मतगणना सकिँदा बैनिमारामाको फिजीफर्स्ट पार्टीले करीब ५२ प्रतिशत मत प्राप्त गरेको छ । विपक्षी सोडेल्पा पार्टीले ३८ प्रतिशत मत प्राप्त गरेको छ भने नेसनल फेडेरेसन पार्टीले करीब ८ प्रतिशत मत प्राप्त गरेको छ । फिजीको संसद ५१ सदस्यीय छ ।
तर, स-साना टापुहरूबाट परिणाम प्राप्त गर्न केही दिन लाग्ने भएकाले अन्तिम नतिजा प्राप्त गर्न केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकारीहरूका अनुसार केही जिल्लामा ५३ प्रतिशत मात्र मतदान भएको छ । केही भागमा मुसलधारे वर्षा भएकाले मतदानमा असर पुगेको थियो ।
बैनिमारामाको नेतृत्वमा रहेको फिजीको अर्थतन्त्रको मुख्य आयस्रोत पर्यटन हो । यहाँको जनसंख्या करिब ९ लाख २० हजार मात्र छ ।
बैनिमारामाले फिजीको वैदेशिक नीतिमा परिवर्तन गरी अस्ट्रेलिया र न्यूजिल्यान्डमाथिको निर्भरता तोडेका छन्। पछिल्ला वर्षमा फिजीमा चीनको लगानी बढेको छ ।
दक्षिण प्रशान्त महासागरीय क्षेत्रका मुलुकमध्येको फिजी सबैभन्दा बढी जनसंख्या भएको र आर्थिक रूपमा शक्तिशाली छ । व्यवसाय र कूटनीतिक दृष्टिबाट फिजीले क्षेत्रीय महत्व हासिल गर्न थालेको छ । एएफपी/रासस