माथिल्लो अरुणको पहुँच मार्ग निर्माण जेठदेखि
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले संखुवासभास्थित माथिल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि सडक मार्ग बनाउने प्रकृया थालेको छ।
आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न प्राधिकरणले बुधबार पूर्वयोग्यताको सूचना आव्हान गरेको छ। इच्छुक कम्पनीले आगामी २० पुसभित्र आवेदन दिन सक्ने आयोजनाको भनाइ छ।
विराटनगर-किमाथाङ (कोशी राजमार्ग)अन्तर्गत् गोला र बरुण बजारबीचमा पर्ने छङग्रानबाट आयोजनाको बाँधस्थल चेपुवा नजिकसम्मको पहुँच मार्गमा २ किमि सुरुङ र २ वटा पक्की पुल बनाउनुपर्नेछ। चीनसँगको नाका जोड्ने कोशी राजमार्ग निर्माणाधीन छ।
प्रस्ताव मूल्यांकन गरी पूर्वयोग्यतामा सफल भएका कम्पनीसँग चैत पहिलो साताभित्रमा प्राविधिक तथा आर्थिक प्रस्तावका लागि टेण्डर आव्हान गर्ने कार्यतालिकामा काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
निर्माण शुरु भएको २४ महिनाभित्र काम सक्ने लक्ष्य छ। त्यसबीचमा आयोजनाको विस्तृत इन्जिनियरिङ सक्ने, लगानी जुटाउने र ठेकेदार छनोटको काम समानान्तर रूपमा अगाडि बढाउने प्राधिकरणको योजना छ।
जेठ ०७६ देखि काम थालेर चैत ०७८ सम्ममा पहुँच मार्गको निर्माण सक्ने प्राधिकरणको लक्ष्य छ। यस्तै, चैत ०७७ मा ठेकेदार कम्पनी छनोट गरी निर्माण थालेर भदौ ०८३ सम्ममा सम्पन्न गर्ने योजना छ।
सरकारले सर्वसाधारणलाई समेत शेयर दिने गरी प्राधिकरणको सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्ने निर्णय छ। त्यसका लागि ‘अपर अरुण जलविद्युत लिमिटेड’ नामक कम्पनी स्थापना भइसकेको छ।
विश्व ब्यांकको सहुलियतपूर्ण ऋणमा अहिले आयोजनाको विस्तृत अध्ययन भइरहेको छ। आयोजना निर्माणमा पनि विश्व ब्यांकले लगानी गर्ने इच्छा जनाएको छ।
अरुण तेस्रोबाट पछाडि हटेपछि सरकारीस्तरबाट अगाडि बढाइएको जलविद्युत आयोजनामा विश्व ब्यांकले हालसम्म लगानी गरेको छैन। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा, विश्वब्यांकका उपाध्यक्ष हार्टविग साफेरलगायतको टोली ३० कात्तिकमा आयोजनाको स्थलगत अध्ययन गर्न जाँदैछ।
यो परियोजनाबाट सुख्खायाममा कम लागतमा बढी ऊर्जा प्राप्त हुने प्राधिकरणको भनाइ छ। प्राधिकरणले आर्थिक वर्ष ०६७÷६८ मा गरेको अध्ययनबाट आयोजनाको क्षमता ३३५ मेगावाट र २ अर्ब ६५ करोड युनिट वार्षिक ऊर्जा प्राप्त हुने देखिएको थियो।
अहिले आयोजनाको क्षमता ७ सय मेगावाटभन्दा माथि रहने र लागत ९० करोड अमेरिकी डलर हाराहारीमा रहने अनुमान गरिएको छ।