बेलायतमा ब्रेक्जिट सचिवले दिए राजिनामा
बीबीसी
बेलायतलाई युरोपियन युनियनबाट अलग गराउन तयार भएको सम्झौताको दस्तावेजमा ‘क्याबिनेट’को पूर्ण समर्थन हासिल गरेको प्रधानमन्त्री थेरेसा मेको दाबी आएको भोलिपल्टै त्यसका लागि गठित संयन्त्रका एक मुख्य पदाधिकारीले राजिनामा दिएका छन्।
ब्रिटिश एक्जिट फ्रम दी युरोपियन युनियन (ब्रेक्जिट)का सचिव डोमिनिक राबले बिहीबार पदबाट राजिनामा दिएका हुन्। ब्रेक्जिटका लागि बेलायतले तयार पारेको मस्यौदालाई आफ्नो अन्तरआत्माबाट समर्थन गर्न नसक्ने उनको भनाइ छ।
२८ कात्तिकमा भएको ५ घण्टा लामो बैठकपछि प्रधानमन्त्री थेरेसा मेले उक्त सम्झौताका लागि ‘क्याबिनेट’बाट पूर्ण समर्थन पाएको दाबी गरेकी थिइन्।
तर, उनको क्याबिनेटका अधिकांश मन्त्रीहरू सम्झौताको विपक्षमा देखिएका थिए। सत्तारुढ दल कन्जर्भेटिभ पार्टीभित्रै प्रधानमन्त्री मेविरुद्ध अविश्वास प्रस्ताव अगाडि बढाउन चर्को दबाब छ।
ब्रेक्जिट सचिव राबलाई डेबिड डेबिसको विकल्पमा प्रधानमन्त्री मेले नियुक्त गरेकी थिइन्। प्रधानमन्त्रीप्रति नै असहमति जनाउँदै उनले पद छाडेका हुन्।
बिहीबार नै उत्तरी आयरल्याण्डका राज्यमन्त्री शैलेश वाराले प्रधानमन्त्री मेले तयार पारेको सम्झौताको दस्तावेजमा समर्थन गर्न नसकिने जनाउँदै राजिनामा दिएका छन्। राजिनामा पत्रमा उनले प्रश्न गरेका छन्, “यस दस्तावेजले बेलायतलाई आधा बाटोमा छाडिदिनेछ, यसरी हामी कहिले सार्वभौम राष्ट्रको गन्तव्यमा पुग्नेछौं?”