श्रीमतीलाई बोक्सी आरोप लगाउने श्रीमान जेलमा
बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महीना जेल र रु पाँच हजार जरिवाना गरेको छ ।
अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए ।
घरको अर्को एक सदस्य बिरामी भएपछि झारफुक गर्ने क्रममा पूजालाई बोक्सी भनेर झाँक्रीले नाम लिएपछि सन्तोषले श्रीमतीलाई बोक्सी भन्दै कुटपिट गरेका थिए ।
सो घटनाका बारेमा प्रहरीमा उजुरी परेपछि प्रहरीले सन्तोष र संलग्न अन्य व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
बोक्सीको आरोप लगाएको अभियोगमा गत ९ जेठमा सन्तोष र परिवारका अन्य सदस्यविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
उनीहरुलाई बोक्सी आरोप कसुर सजाय ऐन २०७२ को १ परिच्छेदको ४ को दफा ११ ‘१’ को क, ख, घ र ङ र उपदफा ४ अनुसार सजाय सुनाइएको हो ।
न्यायाधीश काजीबहादुर राईले उक्त मुद्दामाथि फैसला गरेका हुन् ।
उक्त घटनामा संलग्न पूजाका सासु, ससुरा, देवर, देवरानीले भने सफाइ पाएका छन् । रासस