विश्व ब्यांकसँग १८ अर्बको सम्झौता
काठमाडौं- पुल सुधार तथा मर्मतसम्भार र खाद्य तथा पोषण परियोजनाका लागि सरकारले विश्व ब्यांकसँग रु १८ अर्बको सम्झौता गरेको छ।
अर्थमन्त्री डा युवराज खतिवडा र विश्व ब्यांकका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव राजन खनाल तथा नेपाल, बाङ्लादेश र भूटानका लागि ब्यांकका कन्ट्री डाइरेक्टर चिम्याओ फ्यानले हस्ताक्षर गरे।
दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्ने सिलसिलामा यातायात क्षेत्र सुधारका लागि निर्माण गरिने पुलमा लगानी गर्न ब्यांकले रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण उपलब्ध गराउनेछ। उक्त रकमबाट ४७७ भन्दा बढी पुल निर्माण गरिनेछ।
नेपालको रणनीतिक सडक सञ्जालका ४३३ पुलका निम्ति प्रदान गरिने उक्त ऋणबाट ९० वटा पुलको मर्मतसम्भार, दुर्घटनाको जोखिम कम गर्न १८० वटाको स्तरोन्नतिका साथै ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मतसम्भार र पुनःस्थापनामा खर्च गरिने मन्त्रालयले जनाएको छ।
यस्तै, समावेशी विकास तथा महिलालाई केन्द्रमा राखेर खाद्य तथा पोषण सुदृढीकरणका लागि ब्यांकले रु चार अर्ब ७० करोड अनुदान दिने भएको छ। उक्त परियोजनाबाट ६५ हजार घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन्। रासस