श्रीलंकाको संसदमा राजापाक्षेको सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित
एएफपी
नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षेको सरकारविरुद्ध बुधबार श्रीलंकाली संसदमा अविश्वासको प्रस्ताव भारी मतका साथ पारित भएको छ।
सभामुख कारु जयसूर्याले २२५ सदस्यीय संसदको बहुमतबाट राजापाक्षेको सरकारविरुद्धको अविश्वास प्रस्ताव पारित भएको घोषणा गरे। निवर्तमान प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई बर्खास्त गर्दै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले २६ अक्टोबरमा राजापाक्षेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए।
राजापाक्षेको सरकाविरुद्ध युनाइटेड नेसनल पार्टीका सांसद लक्ष्मण किरिलाले अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
आफू समर्थित सांसदहरूद्वारा संसदको मतदानमा अवरोध पुर्याउने प्रयास गर्नुअघि प्रधानमन्त्री राजापाक्षे आफ्ना छोरा तथा सांसद नमलको नेतृत्वमा रहेको सुरक्षा घेरासहित कार्यकक्षबाट बाहिरिएका थिए।
राजापाक्षेका समर्थक सांसदहरूले मतदानमा बाधा पुर्याउन संसद अवरुद्ध गर्ने प्रयास गरेका थिए। तर, सभामुख जयसूर्याले उनीहरूको गतिविधि बेवास्ता गर्दै मतदान अगाडि बढाएका थिए। र, घोषणा गरे, “ध्वनी मतका आधारमा सरकार बहुमतमा नरहेको घोषणा गर्दछु।”
त्यसलगत्तै राजापाक्षे सरकारका अधिकांश मन्त्री संसदबाट बाहिर निस्किएका थिए, जसले सभामुख जयसूर्याले संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाए।
श्रीलंकाको सर्वोच्च अदालतले मंगलवार संसद विघटन गरेर नयाँ निर्वाचनमा जाने राष्ट्रपतिको कदम रोक्न अन्तरिम आदेश दिएको थियो। राष्ट्रपति सिरिसेनाले निवर्तमान प्रधानमन्त्री बिक्रमासिंघेलाई पदबाट बर्खास्त गरेपछि २६ अक्टोबरदेखि शुरु भएको राजनीतिक संकट ९ नोभेम्बरमा संसद भंग गर्ने कदमका कारण अझ गहिरिएको थियो।
राष्ट्रिय-अन्तर्राष्ट्रिय आलोचनाका बावजुद प्रधानमन्त्री राजापाक्षेको मन्त्रिपरिषद्लाई सपथ दिलाइएको थियो।