दशैं/तिहारमा ७५ सडक दुर्घटना, ७७ को मृत्यु
दशैं र तिहारको १२ दिनमा मुलुकभरी भएका सडक दुर्घटनामा ७७ जनाको ज्यान गएको छ ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रका अनुसार दशैंको फुलपातीदेखि पूर्णिमासम्मको ९ दिनमा मुलुकका ३८ जिल्लामा ७५ सडक दुर्घटना भएका थिए ।
ती दुर्घटनामा १५ महिला सहित ६५ को ज्यान गएको छ ।
त्यसैगरी तिहारकोे लक्ष्मी पूजादेखि भाईटीकासम्मको ३ दिनमा १७ जिल्लाका १९ ठाँउमा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा ४ महिला र १२ पुरुषको ज्यान गएको छ ।
केन्द्रका अनुसार १ बैशाखदेखि २७ कात्तिकसम्म मुलुुकभरी सडक दुर्घटनाबाट एक हजार १३९ को ज्यान गएको छ भने घाइतेको संख्या चार हजार ४९४ छ ।
सो अवधिमा दुर्घटनामा सरदर दैनिक ६ जनाको ज्यान गएको थियो भने चाडबाडको समयमा सरदर दैनिक ७ जनाको ज्यान गएको छ ।
चाडबाडको समयमा अव्यवस्थित सवारी चापका कारण दुर्घटना बढेको केन्द्रका प्रमुख बेदनिधि खनालले बताएका छन् ।
त्यसैगरी, २१–२३ कात्तिक (तिहार) मा भएका ९७ वटा आगलागीका घट्ना मध्ये ४५ वटा घटना तिहारमा बालिएको दियो, विद्युत् सर्ट र मैनबत्तीबाट भएको पनि केन्द्रले जनाएको छ ।
सो अवधिमा आगलागीबाट २ जनाको ज्यान गएको छ भने ७४ घर जलेका छन् । आगलागीबाट रु. १० करोड ४९ लाख ८४ हजार बराबरको क्षती भएको जनाइएको छ ।