‘नेपालीको समस्या समाधानमा अरुको हस्तक्षेप अस्वीकार्य’
नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने बताएका छन् ।
साझा प्रकाशनद्वारा प्रकाशित साहित्यकार राम विनयको कथाकृति ‘घर बिनाको घर’ को आज काठमाडौंमा लोकार्पण गर्दै नेता नेपालले नेपालीहरु स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न चाहने भएकाले उनीहरुले आफ्ना समस्या समाधानका अरुको दबाब, धम्की, हस्तक्षेप र अनुचित चासो मन नपराउने उल्लेख गरे ।
“मुलुकमा अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब देश आर्थिक क्रान्तितर्फ लाग्नुपर्छ, स्रष्टाहरुले त्यसलाई सहयोग पुग्ने गरी साहित्यिक सिर्जना गर्नुपर्छ”,पूर्वप्रधानमन्त्री नेपालले भने ।
नेता नेपालले साझा प्रकाशनको पुल्चोकको जग्गा लिलामीमा जाने खतरा आउन नहुने जनाउँदै यसलाई राज्यले बचाउनुपर्ने र व्यवस्थापनले बजारको प्रतिस्पर्धालाई ध्यान दिएर कुशलता देखाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले साहित्यको जगेर्नाका लागि राजनीतिक नेतृत्व र सरकारलाई संरक्षणको भूमिका निर्वाह गर्न आग्रह गरे । समालोचकद्वय डा दयाराम श्रेष्ठ र जगत् उपाध्यायले विनयका कथामा सामाजिकता र प्रगतीशिलता पाइने बताए ।
प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धताबमोजिम ऋण र अनुदान गरी संस्थालाई रु ४० करोड प्राप्त भएमा लिलामीबाट जोगाउन सकिने बताए ।
यसअघि कविता र नियात्रा विधामा पुस्तक प्रकाशन गर्नुभएका विनयको यो पहिलो कथाकृति हो । रासस