छठको तेस्रो दिन ‘सँझियाघाट’ मनाइँदै
रौतहट- आज छठको तेस्रो दिन तराई मधेशमा ‘सँझियाघाट’ मनाइँदैछ।
नदी र पोखरीमा छठघाट तयार भइसकेका छन्। व्रतालुहरू छठघाटका लागि सामग्री तयार पार्न व्यस्त छन्। छठघाटमा ठेकुआ र कसार लगिने चलन छ।
सोमवार साँझ खरनाको सामग्री पकाएकै चुलोमा ती सामग्री तयार पारिन्छ। अदुवा, उखु, केरा, स्याउ, सुन्तला, नरिवल, केराउ, तुलसीको पात, अक्षतालगायत सामग्रीको प्रयोग गरिन्छ, पूजाका लागि।
नागरिक समाज रौतहटका अध्यक्ष विजयकिशोर झाको भनाइमा जिल्लामा करिब ५४ हजार जनाले छठको व्रत बसेको अनुमान छ।
सोमवार दिनभर निराहार बसी साँझमा खरनाको प्रसाद खाएका व्रतालुहरूले मंगलवार दिनभरि निराहार बसेर साँझमा डुब्दै गरेको सूर्यलाई अर्घ्य दिनेछन्। र, रातभरि छठीमाईको नाउँमा श्रीसप्ताको पूजा गर्छन्। बुधवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ।