काठमाडौंका मेयर र उपमेयर चीन भ्रमणमा
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सोमबार चीन पुगेका छन्।
युहान शहरमा २८-३० कात्तिकमा आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ भाग लिन उनीहरू चीन गएका हुन्। उक्त सम्मेलन चाइनिज पिपुल्स एशोसिएसन फर फ्रेण्डसिप विथ फरेन कण्ट्रिज (सीपीएएफएफसी), चाइना इण्टरनेशनल फ्रेण्डसिप एशोसिएसन (सीआर्इएफसीए) र हुआन म्युनिसिपल्स पिपल्स गभर्मेन्टले संयुक्त रूपमा आयोजना गरेका हुन्।
‘विकासका अवसर र साझा जितका लागि सहयोग बाँडफाँट’ विषयमा केन्द्रित सम्मेलनमा भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय नगर र संघसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ। काठमाडौं महानगरलार्इ ल्हासा नगरले उक्त सम्मेलनमा आमन्त्रण गरेको हो। रासस