मेस्सीको २ गोलका बावजुद बार्सिलोना घरेलु मैदानमै पराजित
डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगामा यो सिजनकै खराब नतिजा आत्मसात गर्ने क्रममा पुछारको टोली रियल बेटिससँग पराजय व्यहोरेको छ।
घरेलु मैदान क्याम्प नोउमा आइतबार राति भएको खेलमा स्टार कप्तान लिओनल मेस्सीको दुर्इ गोलले पनि बार्सिलोनाको हार टार्न सकेन।
जुनियर फिर्पोले २० औं र जोआक्विनले ३४ औं मिनेटमा गोल गरेपछि बार्सिलोना मध्यान्तरअघि नै २-० गोलले पछि परेको थियो। ६८ औं मिनेटमा प्राप्त पेनाल्टीमा मेस्सीले गोल गर्दै बार्सालाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसको तीन मिनेटमै जिओभानी लो सिल्सोले गोल गर्दै बार्सामाथि ३-१ को अग्रता कायम गरे।
बार्साले खेलमा फर्कने प्रयास गरिरह्यो। ७९ औं मिनेटमा अर्तुरो भिडालले गोल गर्दै बेटिसको अग्रता एक गोलमा झारे। तर, त्यसको दुर्इ मिनेटपछि इभान राकिटिचले रातो कार्डको सामना गर्नु बार्साका निम्ति अर्को संकट बन्यो। राकिटिच मैदानबाट निकालिएको दुर्इ मिनेटमै सर्जियो कानालेसले गोल गर्दै बार्सामाथिको अग्रता ४-२ मा पुर्याए।
कप्तान मेस्सीले इन्जुरी समयमा अर्को गोल गरे पनि त्यो बार्साको हार टार्न पर्याप्त रहेन।
ला लिगाको यो सिजनमा बार्साको यो दोस्रो हार हो। यो हारका बावजुद बार्सिलोना २४ अंकका साथ लिगको अंक तालिकाको शीर्षस्थानमा कायमै छ। १२ खेल सकिँदा उसलाई दोस्रो, तेस्रो र चौथो स्थानका सेभिया, एटलेटिको मड्रिड र अलाभेसले समान २३ अंकका साथ पछ्याइरहेका छन्।
ला लिगाकै आइतबार अबेर राति भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई ४-२ गोल अन्तरले पराजित गरेको छ। रियलका तर्फबाट करिम बेन्जमा, सर्जिओ रामोस र डानी सिभालोसले गोल गरे।
यो जितका बाबजुद रियल लिग तालिकाको छैटौं स्थानमा छ। रियलले १२ खेलबाट २० अंक जोडेको छ।