इङलिस प्रिमियर लिग: डर्वी जितसँगै म्यानचेस्टर सिटी पहिलो स्थानमा
इङलिस प्रिमियर लिगअन्तर्गत् आइतबार राति भएको म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको खेलमा सिटीले ३–१ जित निकालेकाे छ। यो जितसँगै डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी लिगको १२ खेल सकिंदा ३२ अंकसहित पहिलो स्थानमा कायमै छ।
म्यानचेस्टरका यी दुई प्रतिद्वन्द्वी क्लबबीचको भिडन्तलाई प्रिमियर लिगकै सर्वाधिक चासोको खेल मानिन्छ। त्यसैले यो खेल प्रतिष्पर्धापूर्ण हुने अनुमान गरिएको थियो। तर खेलमा सिटी हावी रह्यो।
१२ औं मिनेटमै डेभिड सिल्भाको गोलमा अग्रता लिएको सिटीले दोस्रो हाफको शुरुमै ४८ औं मिनेटमा सर्जियो अगुइरोको गोलमा अग्रता दोब्बर बनाएको थियो।
५८ औं मिनेटमा म्यानचेस्टर युनाइटेडले पेनाल्टीमार्फत खेलमा फर्कने कोसिस गरे पनि ८६ औं मिनेटमा इल्काय गुन्डोगनले तेस्रो गोल गर्दै सिटीको विजय सुनिश्चित बनाएका थिए।
चेल्सी हिजोको खेलमा ९ औं स्थानमा रहेको इभर्टनसँग ०–० मा अंक बाँडेपछि १२ खेल सकिंदा २८ अंकसहित तेस्रो स्थानमै सीमित रहेको छ भने हिजो नै भएको पहिलो खेलमा लिभरपुल अन्तिम स्थानमा रहेको फुलह्यामलाई २–० ले पराजित गरी ३० अंकसहित दोस्रो स्थानमा रहन सफल भएको छ।
त्यस्तै हिजो भएको आर्सनल र ओभरह्याम्प्टनबीचको खेल १–१ को बराबरीमा सकिंदा आर्सनल २४ अंकसहित ५ औं स्थानमा रहेको छ भने टोटनह्याम हट्स्पुर २७ अंकसहित चौथो स्थानमा छ।