छठको दोस्रो दिन, खरना मनाइँदै
रौतहट- छठको दोस्रो दिन निराहार व्रत बसेर व्रतालुहरूले खरना मनाइरहेका छन्।
कात्तिक शुक्ल तृतीया (आइतवार) व्रतालुहरूले ‘नहाखाएके’ मनाएका थिए। दिनभर मुखमा एक थोपा पानी पनि नहाली व्रतालुहरू गोवर्द्धन पूजाका दिन बनाएको माटोको चुलो सोमवार दिउँसो घरमा भित्र्याउँछन्। त्यही चुलोमा साँझ छठीमाईलाई खरनाको नेओज चढाइन्छ।
छठको सबैभन्दा महत्वपूर्ण विधि मानिन्छ, खरनालाई। सरिहन (मंसिरा) वा साठी (कालो प्रजातिका) धानको नउसिनेको चामलमा दूध र सख्खर मिसाएर पकाइने खीर, चामलकै पिठोको रोटी र मूला केराको पातमा छठीमाईलाई चढाइन्छ, जसलाई खरना भनिन्छ।
परिवारका सबैले खरना गरिएको ठाउँमा गुइँठा वा आँपको दाउराको आगोमा साकल (धूप हाल्ने काम) गरिन्छ। त्यसपछि खरना सम्पन्न हुन्छ।
खरनामा चढाइएको प्रसाद छठ व्रत नगर्ने आफन्त तथा छिमेकीहरूलाई बाँडिन्छ। मंगलवार सँझियाघाटका लागि निराहार व्रत बस्ने चलन छ।