शिवशक्ति घ्यूको फ्लुड आयल हिटरमा आगलागी
बारा- जितपुरसिमरा-७ स्थित शिवशक्ति घ्यू उद्योगको थर्मिक फ्लुड आयल हिटरमा आइतबार राति आगलागी भएको छ।
विद्युत् सर्ट सर्किटका कारण भएको आगलागीबाट थर्मिक फ्लुड आयल हिटर जलेर नष्ट भएको छ। इलाका प्रहरी जितपुरका सई रामउदय शर्माका अनुसार आइतबार राति पौने ८ बजेदेखि आगलागी शुरु भएको थियो। करिब ३ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो।
उद्योगका मजदुर, स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। त्यसका लागि सिमरा विमानस्थल, जितपुरसिमरा उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जका दमकलको प्रयोग गरिएको थियो।