कला/साहित्यसोमवार, कार्तिक २६, २०७५

असली ’ठग्स अफ हिन्दुस्तान’, जोदेखि अंग्रेज पनि थर्कमान हुन्थे

हिमालखबर

ब्रिटिसले भारतमा औपनिवेशिक शासन गरेको कथावस्तुमा बनेको 'ठग्स अफ हिन्दुस्तान'ले नराम्रो टिप्पणीको सामना गरिरहे पनि धेरैलाई सन् १७०० को उत्तरार्द्ध र १८०० को पूर्वार्द्धको समयमा पुर्‍याएको छ, जसको केन्द्रमा छन् हिन्दुस्तानका ठगहरू। फिल्मी ठगहरू हेरिरहँदा त्यसबेलाका ठगहरू वास्तवमा कस्ता थिए त भन्ने जिज्ञासा बढ्न सक्छ।

विशेष तामझाम र चर्चाका बीच प्रदर्शनमा आएको बलिउड फिल्म 'ठग्स अफ हिन्दुस्तान'ले अनपेक्षित रूपमा नकारात्मक प्रतिक्रिया पाइरहेको छ।

अमिताभ बच्चन र आमिर खानको स्टारडम बोकेको फिल्म दर्शकले नरुचाएको बक्स-अफिसको खस्कँदो कमाइले देखाइरहेको छ। समीक्षकहरूले पनि फिल्मलाई 'निराशाजनक' भनेका छन्। कतिपयले 'निर्देशकको कमजोर काम' र केहीले 'आमिरको करिअरकै खराब फिल्म' भनेर विश्लेषण गरेका छन्।

ठग शब्द सुन्नेबित्तिकै धेरैको दिमागमा छट्टु र बेइमान व्यक्तिको तस्वीर आउँछ, जो झुक्याएर/फुस्ल्याएर महँगो सामान आफ्नो पोल्टामा पारिहाल्छ। तर, भारतमा १९औं शताब्दीमा जुन ठगहरूले अंग्रेजहरुलाई आच्छुआच्छु पार्थे, ती चानचुने मानिस थिएनन्।

ठगको बारेमा सबैभन्दा रोचक जानकारी सन् १८३९ मा छापिएको उपन्यास 'कन्फेसन्स अफ अ ठग'मा पाइन्छ, जसलाई पुलिस सुपरिटेन्डेन्ट फिलिप मिडो टेलरले लेखेका थिए। ५५० पृष्ठको पुस्तक ठगहरूका एक सरदार आमिर अली खानको 'कन्फेसन' अर्थात् आत्मस्वीकृति हो। लेखक टेलरले आमिर अलीसँग जेलमा कैयौं दिनसम्म कुराकानी गर्दै त्यसलाई अक्षरश: लेख्दै गए।

आमिर अलीको बयान यति रोचक थियो, उपन्यास नै तयार भयो र छापिनेबित्तिकै सनसनी मच्चायो। रूडयार्ड किपलिङको चर्चित उपन्यास 'किम' (१९०१) भन्दा ६० वर्ष अगाडि छापिएको उक्त पुस्तकको एउटा विशेषता के थियो भने त्यो कुनै अंग्रेजको दृष्टिकोण नभई एक हिन्दुस्तानी ठगको 'प्रथम पुरुष दृष्टिविन्दु' हो।

टेलरको भनाइमा त्यसबेला आमिर अलीजस्ता सयौं सरदार थिए, जसको रेखदेखमा ठगीको धन्धा चलिरहेको थियो। टेलरले आमिर अलीलाई 'तिमीले कति जनालाई मार्‍यौ' भनेर सोध्दा उनले मुस्कुराउँदै भनेका थिए, "अरे सा'ब, म त पक्राउ परें र पो त ! नत्र त हजार जना कटाउने थिएँ। तपाईंहरूले ७१९ जनामै मलाई रोक्नुभयो।"

ठगहरूको ठगी लीला यति अपरम्पार थियो, उनीहरूलाई नियन्त्रण गर्न अंग्रेजहरूले छुट्टै विभाग नै बनाउनुपरेको थियो। सोही विभागलाई समय क्रममा 'इन्टेलिजेन्स ब्यूरो' नाम दिइयो।

टेलरले लेखेका छन्, "अवधदेखि दक्कनसम्म ठगहरूको सञ्जाल फैलिएको थियो। उनीहरूलाई पक्रन निकै गाह्रो थियो किनकि उनीहरू गुप्तचरको शैलीमा काम गर्थे। उनीहरू आफ्नो काम योजना बनाएर र अत्यन्त चलाखीपूर्वक गर्थे, जसले गर्दा कसैलाई शंकासमेत नहोस्।"

ठगहरूलाई तह लगाउन बनेको विभागका प्रमुख रेनल्ड्सले सन् १८३१ देखि १८३७ को बीचमा ठगहरूमाथि भएका कारबाहीका १८ सय ३८ वटा विवरण दिएका थिए। उक्त व्यहोराका अनुसार पक्राउ परेका एक हजार ५९ जनाको गल्ती पूर्ण रूपमा साबित हुन सकेन। उनीहरूलाई मलेशियानजिकैको पेनाङ टापुमा लगेर छाडियो। पक्राउ परेकामध्ये ४१३ जनालाई फाँसी दिइयो भने ८७ जनालाई आजीवन कैदको सजाय भयो।

साइतअनुसार काम

ठगहरूको धन्दामा आफ्नै खालका काइदा कानून थिए। चाहे हिन्दू हुन् या मुसलमान, ठगहरू शुभ मुहूर्त हेरेर, विधिपूर्वक पूजापाठ गरेर आफ्नो काममा निस्किन्थे, जसलाई 'जितको यात्रा' भनिन्थ्यो। ठगीको मौसम खासगरी दुर्गापूजादेखि होलीको बीचमा हुने गर्थ्यो।

प्रचण्ड गर्मी र वर्षाद्‌को बेला बाटोमा बटुवाहरू पनि कम भेटिन्थे र ठगहरू 'बेरोजगार' हुन्थे। अलग-अलग गिरोह आ-आफ्नो आस्थाको हिसाबले विभिन्न मन्दिरमा जान्थे। अधिकांश ठग गिरोह काली माताको पूजा गर्थे।

ठगहरू कुनै पनि कदम चाल्नु अगाडि शकुन र अपशकुन विचार गर्थे। लाटोकोसेरो कराउने, काग उड्ने, मयूर चिच्याउनेजस्ता हरेक चीजलाई उनीहरू आफ्नो हिसाबले अर्थ निकाल्थे।

'जितको यात्रा'मा निस्कनु एक साता पहिलेदेखि 'साता' शुरू हुन्थ्यो। त्यस अवधिमा ठग र उसको परिवारका सदस्य खाने-पिउने, सुत्ने-उठ्नेजस्ता कुरामा कडा नियम बनाएर पालन गर्थे। सात दिनको अवधिमा बाहिरका मानिससँग भेटघाट गर्ने, कसैलाई आफ्नो घरमा बोलाउने र उसको घर जाने काम ठप्प पारिन्थ्यो।

ठगहरूको नियम कति कडा थियो भने त्यस अवधिमा कसैलाई दान गरिँदैनथ्यो भने कुकुर र बिरालोलगायत जनावरलाई पनि खाना दिइँदैनथ्यो। 'जितको यात्रा'बाट सफल भएर फर्किएपछि पूजापाठ र दान-पुण्यका काम हुन्थ्यो।

हत्यासम्बन्धी नियम

ठगहरूले ठगी धन्दाका क्रममा मानिसको ज्यानसमेत लिन्थे। ज्यान लिने काम गरे पनि उनीहरू आफूमाथि कुदाल देवीको आशीर्वाद रहेको मान्थे। यसका साथै, उनीहरूको मान्यताअनुसार नियमको पालना गर्दै आफ्नो काम गरेमा देवी माताको कृपा आफूहरूमाथि कायम रहनेछ।

पहिलो नियम थियो, हत्यामा एक थोपा रगत पनि बग्नु हुँदैन। दोस्रो, महिला र बच्चालाई कुनै पनि हालतमा मार्नु हुँदैन। तेस्रो, माल मिल्ने सुनिश्चित नभएसम्म हत्या हुनु हुँदैन।

टेलरले पुस्तकमा लेखेअनुसार ठगहरूको सरदार आमिर अली खानलाई आफूले गरेका हत्यामा पछुतो पटक्कै थिएन। अन्य ठगहरूको बारेमा पनि मेजर जनरल स्लिमनले लेखेका छन्, "उनीहरू आफूले केही गलत गरिरहेको भनेर पटक्कै महशुस गर्दैनथे। उनीहरूको नजरमा आफूहरूले गरिरहेको अन्य पेशाजस्तै एउटा पेशा हो। यसका साथै, निर्दोष मानिसलाई मारेर गायब गरेकामा उनीहरूको मनमा रत्तिभर पनि पछुतो र दुःख थिएन।"

ठग्ने तौरतरिका

'जितको यात्रा' मा निस्किने ठगहरूको गिरोहमा २० देखि ५० जनासम्म हुने गर्थे। उनीहरू तीन वटा दस्ता बनाएर हिंड्ने गर्थे, पछाडि, बीचमा र अगाडि। ती तीन वटै दस्तामा तालमेल मिलाउन हरेक टोलीमा १-२ जना हुने गर्थे, जसले दस्ताहरूको बीचमा कडीको काम गर्थे।

अधिकांश ठग कैयौं भाषा, गाना-बजाना, भजन-कीर्तन तथा हिन्दू-मुसलमान दुवै धर्मका तौरतरिका राम्ररी जान्दथे। उनीहरू आवश्यकताको हिसाबले कहिले तीर्थयात्री, कहिले जन्ती, कहिले शवयात्री बन्ने गर्थे। बाटोमा अगाडि बढ्दै जाँदा उनीहरू आफ्नो रूप बदल्ने गर्थे। र, भेष बदल्न माहिर थिए।

बडो धैर्यवान् भएर काम गर्थे। आफ्नो 'शिकार'लाई रत्तिभर शंका हुन दिँदैनथे। कैयौं पटक त मानिसहरू ठगको डरका कारण असली ठगहरूलाई इमानदार सम्झेर उनीहरूको कब्जामा पुग्थे।

ठगहरूको सरदार पढेलेखेको तथा इज्जतदारजस्तो देखिने र बोल्ने व्यक्ति हुन्थ्यो। बाँकी पनि सरदारजस्तै देखिने कारिन्दाहरू हुन्थे। 'कन्फेसन्स अफ अ ठग' उपन्यासमा आमिर अलीले विस्तारपूर्वक बताएका छन्, कसरी उनी ठूला सेठ र धनी मानिससँग जरूरतअनुसार कहिले धनाढ्य, कहिले मौलवी त कहिले तीर्थयात्रीको नेतृत्व गर्ने पण्डितका रूपमा सम्बन्ध बढाउँथे।

आमिर अलीले बताएअनुसार ठगहरूको गिरोहमा काम बाँडफाँट गरिएको हुन्थ्यो। 'सोठा' गिरोहका सदस्य सबैभन्दा समझदार र मानिसहरूलाई कुरैकुरामा फसाउन माहिर हुन्थे। उनीहरू आउने-जाने मानिसलाई ध्यानपूर्वक हेर्थे, उसको धनसम्पत्ति तथा हैसियतको अनुमान लगाएर आफ्नो चंगुलमा फसाउँथे। आमिर अलीको गिरोहमा सोठा गोपाल नामका व्यक्ति थिए, जो निकै होशियारीपूर्वक आफ्नो काम फत्ते गर्थे।

'शिकार' पहिचान गरेपछि ठगहरूमध्ये केही उसको पछाडि, केही अगाडि र केही सबैभन्दा अगाडि हिंड्थे। बाटोमा विस्तारै-विस्तारै ठगहरूको संख्या बढ्दै जान्थ्यो तर उनीहरू आपसमा विल्कुल अपरिचितजस्तो व्यवहार देखाउँथे।

आमिर अलीले टेलरलाई बताएअनुसार कैयौं पटक हप्ता-दश दिनसम्म 'शिकार गर्ने' सही मौकाको प्रतीक्षा गरिन्थ्यो। काममा कुनै गडबडीको आशंका हुनेबित्तिकै योजना स्थगित हुन्थ्यो।

राजेश प्रियदर्शी, बीबीसी हिन्दी

 

प्रतिकृया दिनुहोस