छठमा स्थानीय तहहरूले गरे करोडभन्दा बढीको साडी वितरण
रौतहटमा दुई दिनमा करोडभन्दा बढीको साडी निःशुल्क वितरण गरिएको छ । विभिन्न स्थानीय तहले छठ पर्वको व्रत गर्ने महिलालाई साडी बाँडेका हुन् ।
सदरमुकाम गौर नगरपालिकाका मेयर अजय गुप्ता र उपमेयर किरण ठाकुरले दुई दिन आ–आफ्नो ढंगबाट साडी वितरण गरे । विपन्न, दलित र असहायलाई साडी वितरण गरिएको उनीहरूको भनाइ छ । त्यसको परिमाण भने खुलाइएको छैन ।
गौरका समाजसेवी शम्भु साहले पनि आफ्नै लगानीमा गरिब, विपन्नलाई साडी बाँडेका छन् । गौरमै समाजसेवी रामस्वार्थ यादवले पनि आफ्नै लगानीमा साडी बाँडे ।
दुर्गा भगवती गाउँपालिकाका वडाध्यक्ष धर्मेन्द्रकुमार झाले आफ्नै लगानीमा सयौं स्थानीय महिलालाई साडी बाँडेका छन् ।
माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्र यादवले पनि दलित, विपन्न र असहाय व्रतालुलाई साडी वितरण गरे । उपमेयर सिमल साहले शहीद परिवार तथा अपांगलाई साडी बाँडिन् । आफ्नो दुई महिनाको तलबबाट साडी बाँडेको बताइन् ।
गढीमाई–४ का वडाध्यक्ष हरिकिशोर साहले वडा कार्यालयको बजेटबाट ७ सयभन्दा बढी व्रतालुलाई साडी वितरण गरेको वडा सदस्य कुमार सानुले जानकारी दिए ।
गरुडा–८ मा स्थानीय रामलाल राय यादवको अगुवाईमा ५० र ९ का वडाध्यक्ष राजेश सहनीले १०० व्रतालुलाई साडी वितरण गरेका छन् ।
छठका व्रतालुहरूलाई कपडा वितरण गर्दा पुण्य प्राप्त हुने विश्वासका कारण साडी बाँडिएको हो ।
सञ्जय मित्र, रौतहट