कला/साहित्यआइतवार, कार्तिक २५, २०७५

'मिटु' का कारण अलपत्र फिल्म 'सुपर ३०' लाई कबीर खानले पूरा गर्ने

हिमालखबर

'मिटु' अभियानका क्रममा बलिउड निर्देशक विकास बहलमाथि यौन उत्पीडनको आरोप लागेपछि अलपत्र परेको 'सुपर ३०' को संकट दूर हुने भएको छ।

आरोपपछि बहलले फिल्म निर्देशनबाट हात झिक्नुपरेको थियो। त्यसपछि फिल्मको निर्देशन अधुरो बनेको थियो। ऋतिक रोशन अभिनित उक्त फिल्मको संकट हटेको छ। र, निर्देशक कबीर खानले फिल्मको अधुरो काम पार लगाउने जिम्मा पाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

भारतका गणितज्ञ आनन्द कुमारको बायोपिक भनिएको 'सुपर ३०' ले बाँकी काम पूरा गर्न नयाँ निर्देशक पाएको हो। फिल्मको ९० प्रतिशत काम यसअघि नै सकिइसकेको छ।

कुनै पनि दिग्गज निर्देशकका लागि फिल्मलाई अन्तिम समयमा जिम्मा लिएर पूरा गर्नु चुनौतीपूर्ण मानिन्छ। यो चुनौती वहन गर्न कबीर अगाडि सरेका छन्। उनले यसअघि 'एक था टाइगर', 'बजरंगी भाइजान'जस्ता व्यावसायिक रूपमा सफल फिल्मको निर्देशन गरिसकेका छन्।

बलिउडका विभिन्न अभिनेत्रीले यौन उत्पीडनको आरोप लगाएपछि निर्देशक विकास बहललाई 'सुपर ३०' का निर्माताहरू फ्यान्टम्स फिल्म्स् र साजिद नाडियाडवालाले फिल्म छाड्न भनेका थिए। फिल्मका मुख्य अभिनेता ॠतिकले पनि बहललाई हटाउन जोड दिएका थिए। निर्देशकले प्रोजेक्ट बीचैमा छाडेपछि फिल्म अलपत्र परेको थियो। एजेन्सी

प्रतिकृया दिनुहोस