प्रिमियर लिगः आज म्यानचेस्टर डर्बी भिडन्त
इङलिस प्रिमियर लिगअन्तर्गत् आइतबार राति म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी आमनेसामने हुँदैछन्। म्यानचेस्टरका यी दुइ प्रतिद्वन्द्वि क्लबबीचको भिडन्तलाई प्रिमियर लिगकै सर्वाधिक चासोको खेल मानिन्छ।
सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति सवा १० बजे शुरु हुनेछ। डर्बी भिडन्तको नतिजा आफ्नो पक्षमा पारेर सिटी लिग तालिकामा शीर्ष स्थान कायमै राख्न चाहन्छ भने युनाइटेडचाहिँ सिटीमाथि जित हासिल गरेर टिमको मनोबल उकास्न चाहन्छ।
यो सिजन खराब शुरुवात गरेको युनाइटेड अंक तालिकाको आठौं स्थानमा छ। गत सिजनको लिग विजेता सिटी र दोस्रो स्थानको युनाइटेडबीचको खेल डर्बी भिडन्त मात्र हुने छैन, क्लब फूटबलका सफल प्रशिक्षक मानिने पेप ग्वार्डिओला र जोसे माउरिन्होको प्रतिष्ठाको लडाईं पनि हुनेछ।
युरोपेली क्लब फूटबलका यी हाइप्रोफाइल प्रशिक्षकद्वयको विगत पनि त्यस्तै छ। ग्वार्डिओला यसअघि स्पेनिस क्लब बार्सिलोनाका सफल प्रशिक्षक रहिसकेका छन् भने माउरिन्हो बार्सिलोनाको प्रमुख प्रतिद्वन्द्वि रियल मड्रिडका प्रशिक्षक थिए। स्पेनपछि जर्मनी पुगेका ग्वार्डिओलाले बुन्डेसलिगामा वायर्न म्युनिखलाई पनि बेग्लै उचाइमा पुर्याए। माउरिन्हो भने स्पेनपछि अर्को प्रिमियर लिग क्लब चेल्सीको प्रशिक्षक भए।