काठमाडौं-जनकपुर पर्यटकीय बस सञ्चालन
काठमाडौं- दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलो पटक काठमाडौंबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ।
यसअघि काठमाडौं-पोखरा बस सञ्चालन गरेको ट्राभलले आइतबारदेखि काठमाडौं-काभ्रे-सिन्धुली-बर्दिबास हुँदै जनकपुरसम्म बस चलाउन थालेको हो। प्रालिका सञ्चालक टंक थापाले प्रदेश-२ र नेपालकै प्रमुख धार्मिकस्थल जनकपुरलाई पर्यटनसँग जोड्न उक्त बस सञ्चालनमा ल्याएको बताए।
काठमाडौं सोह्रखुट्टेबाट बस बिहान ७ बजे छुट्ने छन्। टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष प्रल्हाद लोहनीले मुलुकको पर्यटन विकासका लागि काठमाडौं-जनकपुर पर्यटकीय बस सञ्चालनबाट ठूलो सहयोग पुग्ने बताए। सन् २०२० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न यस्ता सेवाले सहयोग पुग्ने उनको भनाइ छ।
एशोसिएसनले यसअघि पोखरा, सौराहा र लुम्बिनीमा पर्यटक बस सञ्चालनमा ल्याइसकेको छ। आगामी दिनमा बर्दियामा समेत बस लैजाने लक्ष्य राखिएको अध्यक्ष लोहनीको भनाइ छ। हाल काठमाडौंबाट देशका विभिन्न भागसम्म पर्यटकलाई ओहोरदोहोर गराउन एक सयको हाराहारीमा पर्यटक बस सञ्चालनमा छन्।