हकिङको शोध र व्हिलचेयरको मूल्य ९ लाख पाउन्ड
बेलायती भौतिकशास्त्री स्टेफन हकिङले प्रयोग गरेको मोटरयुक्त व्हिलचेयर र उनको शोध लिलाम भएका छन्।
व्हिलचेयरले मूल्य पाएको छ, ३ लाख पाउन्ड। र, सन् १९६५ मा उनले विद्यावारिधिका लागि तयार पारेको शोध ‘प्रोपर्टिज अफ एक्स्पान्डिङ युनिभर्स’ले ५ लाख ८५ हजार पाउन्ड मूल्य पाएको छ।
दुवैको मूल्य करिब ११ लाख ४८ हजार अमेरिकी डलर हुन जान्छ। २२ वटा सामग्री लिलामीमा राखिएकामा ५ वटा मात्र बिक्री भएका छन्। लिलामीका लागि अनलाइन सपिङ ‘क्रिस्टी’को सहयोग लिइएको थियो।
समकालीन विश्वका महान भौतिकशास्त्री हुन्, स्वर्गीय हकिङ। गत १४ मार्चमा ७६ वर्षको उमेरमा उनको निधन भएको थियो। ‘स्टेफन हकिङ फाउन्डेसन एन्ड मोटर न्युरोन डिजिज एसोसिएसन’ले आर्थिक स्रोत जुटाउने उद्देश्यले उनको व्हिलचेयर र शोधलाई लिलामीमा राखेको थियो।
हकिङका अन्य सामग्रीहरू पनि लिलामीमा राखिएको छ। तिनमा निबन्ध, पदक, पुरस्कार तथा उनको पुस्तक ‘ब्रिफ हिस्ट्री अफ’ टाइम्सको प्रतिलिपी पनि छन्। लिलामीमा राखिएको उनको पुस्तकको प्रतिलिपीमा हकिङको औंठाछापसहितको हस्ताक्षर पनि छ।
आफ्नो जीवनकालमा ब्रम्हाण्डको उत्पत्तिबारे हालसम्मको श्रेष्ठतम जानकारी हासिल गर्ने प्रयास गरेका थिए, हकिङले। मोटर न्युरोन रोगका कारण जीवनको अमूल्य समय उनले व्हिलचेयरमा बिताउनुपरेको थियो।