चिनियाँ र अमेरिकी रक्षामन्त्री भेटवार्ता
एपी-रासस
वासिङ्टन- चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे र अमेरिकी समकक्षी जेम्स म्याटिसबीच वासिङ्टनमा शुक्रबार अपराह्न भेटवार्ता भएको छ।
चिनियाँ रक्षामन्त्री वेइ शुक्रबार वासिङ्टन पुगेका हुन्। दुर्इ समकक्षीबीचको भेटमा खासगरी चिनियाँ र अमेरिकी सैन्य सम्बन्धका विषयमा कुराकानी भएको थियो।
चिनियाँ रक्षामन्त्री वेइले चिनियाँ राष्ट्रपति सी जिनिपङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्लो समयमा एक महत्वपूर्ण सहमति बन्दै गएको र त्यसले दुई मुलुकबीच रणनीतिक साझेदारीका लागि पनि ठूलो सहयोग पुग्न सक्ने अपेक्षा गरिएको बताए।
दुवै पक्षले शान्त र सकारात्मक रूपमा सैनिक सम्बन्धमा जोड दिनुपर्ने बताउँदै मन्त्री वेइले आपसी सम्बन्ध सुधारका लागि सम्मानको वातावरण निर्माण हुनुपर्ने र त्यसका लागि प्रक्रियाहरु शुरु गर्नुपर्ने बताए।
यस्तो सम्बन्ध सुधारको माध्यम चीन र अमेरिकाका राष्ट्रपतिहरूले शुरु गरिसकेको उनको भनाइ थियो।
अमेरिकी रक्षामन्त्री म्याटिसले चिनियाँ रक्षामन्त्रीको सकारात्मक धारणासँग सहमति जनाए। अमेरिका जहिले पनि चीनसँग सैन्य सम्बन्धका माध्यमबाट असल सम्बन्धको विकासमा सकारात्मक रहेको उनले बताए। दुर्इ मुलुबीच पछिल्लो समयमा विकसित असमझदारीलाई असल सम्बन्धमा परिणत गर्न सदा तत्पर र सकारात्मक रहेको धारणा उनले व्यक्त गरे।