अन्तर्वार्ता/विचारशनिवार, कार्तिक २४, २०७५

गन्हाउने वागमती, शहरमा फोहोरको थुप्रो

हिमालखबर

डा. अरुणा उप्रेती

जबसम्म नेपाल फोहोर छ भनिँदैन, तबसम्म सफा गर्ने सोच पनि आउँदैन।

यस पटकको दशैंमा अमेरिकी साथीसँग पोखरा जाँदैथिएँ। बसको यात्रा, सँगैका यात्रीले बान्ताका पोका झ्यालबाट फालेको देखेर उनले अनुहार बिगारे पनि केही बोलिनन्। बरु मलाई नै लाज लाग्यो। तर, के गर्नु हाम्रो बानी यस्तै!

एक वर्षअघि नेशनल जोग्राफीमा नेपालका अति सुन्दर घुम्नैपर्ने १० ठाउँको तस्वीर आयो। सन् २०१९ मा यात्रा गर्नका लागि लोन्ली प्लानेटले काठमाडौंलाई १० उत्कृष्ट शहरमा छानेको छ। पर्यटक बढ्ने आशाले हामी हर्षित छौं। तर, यी समाचारसँगै मैले सम्झ्एिकी छु- गन्हाउने वागमती, विभिन्न शहरमा फोहोरको डंगुर, बसपार्कमा थुप्रिएको फोहोर!

पर्यटन र फोहोर सँगसँगै

पत्रपत्रिका र सामाजिक सञ्जालमा हिमाल, पोखराका ताल र मुगुको रारालगायत तस्वीर देख्दा हामी नेपाललाई स्विट्जरल्याण्डजस्तो भनिदिन्छौं। रारा, मुस्ताङको भ्रमण गर्ने र तराईका मन्दिरहरूमा दर्शन गर्ने आन्तरिक पर्यटक बढेका समाचारले पनि हामी दंग पर्छौं। डोटी र अछाममा बस्नेहरू हलेसी, पाथिभरा र जनकपुरधाम पुगेका छन्।

काठमाडौंमा बस्नेहरू छिन्नमस्तादेखि शैलेश्वरीसम्म पुगिरहेका छन्। तर, यी क्षेत्रमा बढ्दो फोहोरबारे पत्रपत्रिका वा सामाजिक सञ्जालमा कुरा उठाएको देखिँदैन। पशुपति जानेले कैलाशडाँडा वा गुह्येश्वरीको फोहोरबारे बोलेको सुनिँदैन। डोटीको शैलेश्वरी, गोरखाको मनकामना जाँदा बाटोमा फोहोरका डंगुर देखिन्छ। लोन्ली प्लानेट पढेर आएको कुनै पर्यटक यी ठाउँमा पुग्यो भने उसले के सोच्ला?

मेरो आशय, जबसम्म नेपाल फोहोर छ भनेर बोलिँदैन, सफा गर्ने विचार पनि आउँदैन। हामी प्रत्येकले सोच्नुपर्ने बेला आएको छ, किन हाम्रा सार्वजनिक स्थल, सरकारी कार्यालय, शौचालय, बगैंचामा फोहोर थुप्रिन्छ? नेशनल जोग्राफीले हाम्रा पर्यटकीय र तीर्थस्थलको फोहोरको तस्वीर देखायो भने के होला?

कुनै विदेशी साथीले नेपालको सौन्दर्य वर्णन पढेर आफू नेपाल आउन थालेको खबर पठायो भने तपाईं उसलाई के भन्नुहोला? म त भन्नेछु- “नेपालका हिमाल र डाँडाकाँडा सुन्दर छन्। मानिसहरू पनि आतिथ्यप्रेमी छन्। तर, तिमी फोहोर सहन सक्ने, प्रकृतिलाई हामीले नष्ट गरिरहेको हेर्न र सहन सक्ने भए नेपाल आऊ। होइन भने युट्युब, टेलिभिजन र पत्रिकामै नेपालको सौन्दर्य हेर !”

जताततै थुक्ने, सर्वत्र रछ्यान बनाउने हाम्रो प्रवृत्तिले पक्कै पनि पर्यटकलाई दिक्क पार्छ। हामीले नदीनाला फोहोर पारेका छौं। सडक, मन्दिर, पाटीपौवा दुर्गन्धित बनाएका छौं। हामीकहाँ शौचालय निकै कम छन्, भएकाको पनि राम्रो व्यवस्थापन हुनसकेको छैन। प्लाष्टिकका पोकाले देवस्थल ढाकेका छन्। हामी असभ्य भएका छौं र विदेशी पर्यटकले पनि त्यस्तै ठान्छन्।

नेपालको फोहोरबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार-तस्वीर प्रकाशित भइरहे, नेपाल फोहोर छ भनेर नेपालमा पर्यटकहरू आउन कम भैदिए शायद हामी सचेत हुन्थ्यौं कि! हाम्रा नेता, मन्त्री, व्यापारी, धार्मिक गुरुको घैंटामा घाम लागेर नेपाल सफा पार्न अभियान शुरू हुन्थ्यो कि!

यो पढेर कतिले मलाई देशमा पर्यटक ल्याउन नचाहने अराष्ट्रिय तत्व भन्न पनि सक्लान्। उसो भए, सार्वजनिक स्थल, पर्यटकीय स्थल, गाउँ-शहर, मन्दिर, पार्क सबैतिर फोहोर पार्ने र त्यो फोहोर टुलुटुलु हेरिरहनेचाहिँ कुन तत्व?

मेरा आँखा नै फोहोरी!

देश-विदेशबाट आउने ठूल्ठूला राजनीतिक व्यक्तित्व वा पर्यटक जनकपुरका फोहोर गल्लीमा पुगे जनकपुरवासीलाई के भन्लान्? माछापुच्छ्रेको सौन्दर्य हेरेर रमाएका पर्यटकले फेवाताल वरपरको फोहोर देखेर के भन्दा हुन्? कल्पना गरौं, जनकनन्दिनी सीता फेरि जनकपुर आइपुगिन्। अब उनको प्रतिक्रिया के होला?

हिउँद लागेपछि मेरो प्रिय धनुषा र जनकपुर सफा र हरियो होला भनेर सखीहरूसँगै यहाँ आउँदै थिएँ। म र मेरा प्रिय रामका नाममा बनेका मन्दिर, यहाँका ताल तलैया, बाल्यकालमा घुमेका, खेलेका ठाउँ सम्झेर प्रफुल्लित थिएँ। तर, जसोजसो जनकपुर नजिक आउन थाल्यो, एउटा नमीठो गन्ध आउन थाल्यो। मेरो जनकपुर उहिलेको जस्तो रहेनछ।

जताततै हिलो र फोहोरको दुर्गन्ध। सखीहरूले मलाई खिसी गर्न थाले- “यही हो, तिम्रो प्रिय ठाउँ ? तिमी बाल्यकालमा घुमेको हरियो बगैंचा खोई?” म विस्मातमा छु, कता हरायो मेरो प्यारो जनकपुर? यहाँका ताल किनारमा मैले कैयौं छठ मनाएँ। साउनमा मेहन्दी लगाएर छमछम नाचें। त्यो ताल त अहिले फोहोर फाल्ने, शौच गर्ने ठाउँ भएछ।

म अचम्ममा छु, मैले किन नेपाल सुन्दर देख्न सकिरहेकी छैन? शायद ‘फूलको आँखामा फूलै संसार’ भनेजस्तै मेरो आँखा नै फोहोरी हो कि!

प्रतिकृया दिनुहोस