दुर्घटनामा ३ जनाको मृत्यु
बारा- पूर्वपश्चिम राजमार्गमा ट्याक्सी र भ्यान ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।
निजगढ-९ स्थित भमरा पुलमा बा२ज २११७ नम्बरको ट्याक्सी र तरकारी बोकेको ग२च २३२५ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किँदा उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा ट्याक्सी चालक भक्तपुरका समुन्द्र श्रेष्ठ (२९), ट्याक्सीमा सवार निजगढका विशाल माझी (२५) र निजगढकै आकाश माझी (२५) छन्। ट्राफिक प्रहरी निरीक्षक विकास बमका अनुसार ट्याक्सीमा सवार निजगढका नरेश माझी (२८) र मकवानपुरको फापरबारी गाउँपालिकाका अर्जुन माझी (२१) को अवस्था चिन्ताजनक छ।
उनीहरूलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ। राति करिब एक बजे तीव्र गतिमा रहेका दुवै गाडी ठोक्किएका थिए।