टिप्पणीशनिवार, कार्तिक २४, २०७५

आत्मघातीजस्ता कांग्रेसका नेता

पुरञ्जन आचार्य

यसपालि बडादशैं, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहमा सरिक हुने अवसर मिल्यो।

फाइल तस्वीर

चीन सरकारको सहयोगमा भरखरै निर्माण भएको चक्रपथ पार गरेर जानुपर्ने कांग्रेसको केन्द्रिय कार्यालय पुग्दा कांग्रेसभित्रका नवधनाढ्यहरूको घुइँचोलाई राम्रैसँग अनुभूति गर्न पाइयो। चौडा र चिल्लो चक्रपथ छिचोलेर सानेपास्थित कांग्रेस कार्यालय पुगेका गाडीको लस्कर हेर्दा लाग्यो, कांग्रेसमा मान्छेभन्दा गाडी पो बढी हुन थालेछन् कि ! मोटरसाइकलहरूको लस्करको त के कुरा !

केन्द्रीय कार्यालयको चियापानमा कांग्रेसलाई सञ्‍चालन गर्नेहरू सबै आ-आफ्ना गाडीमा आएका थिए। आम मानिसको उपस्थिति भने खासै राम्रो देखिँदैनथ्यो। चिया लिन लाइन लागेका मानिस पनि धेरै थिएनन्।

चियापान समारोह दृष्यावलोकनका क्रममा लाग्थ्यो, कतै राष्‍ट्रिय मेलमिलापको आयाम नेता-नेताबीचमा पो सीमित भयो कि ! बीपी कोइरालाले राष्‍ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुको सन्देश कांग्रेसले अब अंगिकार गर्न सकेजस्तो देखिएन। किनभने, जनता-जनताबीचको मेलमिलापको कल्पना थियो, बीपीको।

अहिले चियापान समारोहलाई सत्तासँग सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा उपयोग गर्न खोजिएको अनुभूति हुन्थ्यो। काठमाडौंस्थित विदेशी राजदूतहरूमार्फत् अन्तर्राष्‍ट्रिय सत्तासँग, सेना, प्रहरी, निजामति कर्मचारीहरूमार्फत् राष्‍ट्रिय सत्तासँग सम्बन्ध विकसित गर्ने माध्यम बनाएजस्तो लाग्थ्यो। विपक्षी दलले सत्तारुढ दल र तिनका नेताहरूसँग सम्बन्ध विकसित गर्ने एउटा बहाना पाएजस्तो लाग्यो।

त्यसबाहेक यसपालिको चियापान समारोहको कुनै नौलो आयाम ठम्याउन सकिएन। त्यसकारण यो चियापानलाई तमासाको संज्ञा दिँदा पनि फरक नपर्ला। चियापान समारोहमा भेटिएका कांग्रेसका पुराना साथीहरूको धारणा पनि मैले लगभग यस्तै पाएँ।

सबभन्दा चाखलाग्दोचाहिँ के भने केही अवकाशप्राप्त ‘ब्युरोक्रेट्स’हरू बडो अनुशासित रूपमा लामबद्ध थिए। त्यसको कारण पनि रोचक छ। उनीहरूले सरकारी सेवाबाट अवकाश पाएका छन् र नयाँ नियुक्तिको खोजीमा छन्। तिनीहरु सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको चियापानमा पनि त्यसरी नै लामबद्ध देखिन्थे।

काठमाडौंको सत्ताकेन्द्रित शक्तिकेन्द्र जति बाठो छ, अवकाशप्राप्त कर्मचारीहरू पनि त्यत्तिकै बाठा छन्। उनीहरू सर्वत्र आफ्नो उपस्थिति जनाइरहन्छन्। हुन पनि जस्तोसुकै राजनीतिक परिवर्तन भए पनि सिंहदरबारको अनुभव लिइसकेका र सिंहदरबारबाटै थप अनुकम्पा पाउने लोभ भएकाहरूकै वरिपरि हाम्रो सत्ता घुमिरहेको छ।

कांग्रेस केन्द्रीय कार्यालयभित्र निर्मित पाण्डालको विशिष्ट कक्ष अर्थात् मञ्चमा एउटा विचित्रको ढोंग देख्‍न पाइन्थ्यो। दिनरात झगडा गरेर बसेका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत नेता अनौठो पाराले मिलेर बसेकोजस्तो देखिन्थ्यो, त्यहाँ। तर, किन हो किन, मलाईचाहिँ उनीहरू एकअर्काविरुद्ध प्रहार गर्न हातमा चक्कु लिएर बसेकोजस्तो लाग्थ्यो।

जुलियस सिजर र ब्रुटसको कथा यहाँनेर स्मरण गर्न आवश्यक छ। यी दुवै एकदमै मिल्ने साथी हुन्छन्। तर, परिस्थिति यस्तो बन्छ कि ब्रुटसले जुलियस सिजरलाई चक्कुले हानेर मारिदिन्छ, धोका दिन्छ। मर्ने बेलामा सिजरले ब्रुटसलाई सोध्छ- तँ पनि मलाई धोका दिने ?

अहिले कांग्रेसभित्र एकअर्काबीचको सौहार्द्रता सिजर र ब्रुटसको जस्तो छ। सबै जना सबैलाई चक्कु हान्‍न तम्तयार छन्, त्यो पनि पछाडिबाट। अगाडि पर्दा सबैले दाँच ङिच्च देखाएर अन्तर्राष्‍ट्रिय, छिमेकी र स्वदेशी शक्तिहरूसँग पनि मिलाप देखाउँछन्।

तेस्रोपल्ट पनि नेतृत्व दिन नसक्ने नेता महामुर्ख हो। त्यसैले अहिले कांग्रेसको नेतृत्व महामुर्खको हातमा छ।

कांग्रेसमा देखिन थालेको यसखाले विचलनको कारण पार्टी नेतृत्व वैचारिक रूपमा अगाडि बढ्न नसक्नु हो। कांग्रेसको नेतृत्वले विचार बोक्न सकिरहेको छैन। विचार नबोकेको व्यक्तिलाई जालझेल र षडयन्त्रबाट नेता हुनुपर्छ।

विचार भएको भए त्यो विचार निशृत संगठनमा कार्यकर्ताहरू आवद्ध हुन्थे। तर, लेनदेन र तमासाबाट आएको प्राविधिक नेतृत्व मात्र छ, कांग्रेसमा। उनीहरूले आ-आफ्नो गिरोह निर्माण गर्नु परिरहेको छ। त्यस गिरोहलाई बचाउन विभिन्‍न प्रकरणमा त्यसलाई अनुकम्पा गर्नुपर्नेछ। केन्द्रीय सदस्य बनाएर, टिकट र पैसा दिएर, सन्तानको विवाहमा सहयोग गरिदिएर या पढाइदिएर अर्थात् कृपा, अनुकम्पा, दान, दातव्यबाट पार्टी चलेको छ। ठेक्कापट्टा दिने र अपराधकर्मबाट जोगाइदिनेजस्ता गतिविधिबाटै पार्टी गुज्रिएको छ।

त्यस्तो नहुँदो हो त शेरबहादुर देउवा सभापति बनेको अढाइ वर्ष अर्थात् आधाभन्दा बढी कार्यकाल बितिसक्यो तर पार्टीका विभागहरू गठन भएका छैनन्। भातृ संगठनहरूले काम गर्न पाएका छैनन्। सारा संगठन लथालिंग छ।

निर्वाचनमा पराजयबारे समीक्षा गर्दा कम्युनिस्टहरू मिले अनि कांग्रेसले हार्यो भन्‍ने निष्कर्ष आउँछ। हारको कारण पनि कहीं त्यस्तो हुन सक्छ ? एउटै दर्शन बोकेका पार्टीहरू मिले अनि चुनाव हारियो भन्‍ने निष्कर्षजस्तो लज्जास्पद अवस्था अर्को के हुन्छ ? कम्युनिस्टहरू फुटे मात्र आफ्नो भविष्य रहेको अर्थ लाग्ने निर्णय केन्द्रीय कार्यसमितिले गरिसकेपछि पार्टी कुन बाटोमा जाँदैछ भनेर देखाइराख्नु पर्दैन।

महामुर्ख नेतृत्व !

वर्तमान सभापति शेरबहादुर देउवा संघर्षबाट खारिएरै आएका नेता हुन्। कुनै समय कांग्रेसभित्रका ‘हिरो’ देउवाले खुला राजनीतिमा आएयता कांग्रेसलाई नेतृत्व दिन सकेनन्। विभिन्‍न प्रकरणहरूबाट प्रमाणित भएको छ, देउवाले लोकतान्त्रिक संस्कार र संस्कृति विकास गर्न सकेनन्।

बरु, त्यसविपरित संसदीय व्यवस्थाकै मानमर्दन गरेको सुरा, सुन्दरी काण्डमार्फत् सत्ताकेन्द्रित राजनीति गरे। त्यसभन्दा अगाडि बढेर प्रजातन्त्र दरबारमा बुझाइदिए। त्यसका बावजुद देउवालाई अभयदान दिनु कांग्रेस कार्यकर्ताको महानता हो। देउवा अहिले कांग्रेसको सभापति मात्र होइन, संसदीय दलको नेता पनि छन् र उनलाई यसरी अभयदान दिने कार्यकर्ता दुनियाँमा बिरलै पाइन्छन्।

देउवा नै पार्टी सभापति र प्रधानमन्त्री रहेका बेला नेपाली कांग्रेस केन्द्र र सातवटै प्रदेशमा सत्ताविमुख हुन पुग्यो। त्यसमा पनि कांग्रेस कार्यकर्ताले देउवाको मूल्यांकन गरिरहन उचित ठानेनन्। बरु, कतिपय कार्यकर्ताले देउवाकै छत्रछायाँलाई आश्रयस्थल बनाएका छन्। त्यहींबाट कृपा र अनुकम्पा खोजिरहेका छन्।

एक पटक गल्ती गर्ने नेतालाई मात्र क्षमा दिन सकिन्छ। दुईपल्ट गल्ती गर्ने नेता मुर्ख हो। तेस्रोपल्ट पनि नेतृत्व दिन नसक्ने नेता महामुर्ख हो। त्यसैले अहिले कांग्रेसको नेतृत्व महामुर्खको हातमा छ।

शेरबहादुर देउवाको फाइल बढुवाको कोर्सलाई सहीछाप गरेका छन्, कांग्रेस कार्यकर्ताले। त्यससँगै वंशसत्ता पनि खोजेका रहेछन् र गगन थापालाई हराएर डा. शशांक कोइरालालाई जिताए।

यसो भनिरहँदा कांग्रेसका कार्यकर्ताहरूले आफूलाई यस्तै नेता चाहिन्छ भनेर ग्रहण गरिसकेका छन्। देउवालाई ५ वर्षका लागि पार्टी सभापति र संसदीय दलको नेता बनाइसकिएको छ। पार्टी र संसदीय दलको विधानअनुसार नै उनलाई यी दुइ पदमा चुनिएको छ। तर, के राजनीति भनेको प्राविधिक र कानूनी कुरा मात्र हो ? देउवालाई सहयोग र समर्थन गर्ने कांग्रेस कार्यकर्ताहरूले यो कुरा बुझेनन्।

राजनीति ऐन, कानूनमा होइन, जनताका बीचमा गरिन्छ। जनता बिर्सेर जब कुनै पार्टी कानूनी र प्राविधिक नेतृत्वमा रमाउँछ, तब देउवाजस्ता नेताहरू सम्पूर्ण रूपमा हार्दाहार्दै पनि त्यो पदमा पदस्थापन भएर निर्लज्‍जतापूर्वक बसिरहेका हुन्छन्।

यसमा दोष देउवाको मात्र छैन। यसलाई कानूनी र प्राविधिक रूपले बुझ्‍ने बुद्धिजीवीहरूप्रति पनि दया लाग्छ। यस्तो अवस्थामा पनि नयाँ ढंगले सोच्दैन, नयाँ नेतृत्वको विकल्प र संगठनको नयाँ ढाँचाबारे बहस गर्दैन भने त्यस्तो पार्टीको भविष्य हुँदैन। यो सब हेर्दा देखिन्छ, कांग्रेस समयभन्दा निकै पछाडि हिँडिरहेको छ।

यसबाट एउटा स्वाभाविक प्रश्‍न उठ्छ, त्यसो भए कांग्रेसभित्र देउवालाई किन स्वीकारिएको छ ? किनभने केही सीमित व्यक्तिहरू उनको नेतृत्वमा आर्थिक र राजनीतिक रूपमा ‘कम्फर्ट जोन’मा छन्। सामाजिक प्रतिष्ठा कमाएर आरामको जिन्दगीमा छन्। कांग्रेस पार्टी जति सानो हुँदै गएर खुम्चिँदा पनि ‘कम्फर्ट जोन’मा बसेका मानिसहरूलाई बडो आराम भएको छ।

देउवाको यति कठोर समीक्षा गरिरहँदा कांग्रेस पार्टीले भविष्यमा भोग्‍न अझ धेरै बाँकी छ।

विकल्प पनि निराशाजनक

देउवाको विकल्पमा पनि खासै उत्साहजनक अवस्था छैन। रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाहरू पटक-पटक देउवासँगै हारेका छन्। पार्टीका आन्तरिक मोर्चाहरूमा हारेका छन्। उनीहरू पनि पार्टीभित्र नीति, विचार, संगठन र नेतृत्व दिन सक्षम होइनन् भन्‍ने कुराको मूल्यांकन पार्टी कार्यकर्ताहरूले गरिरहेका छन्।

अहिले उपलब्ध नेताहरूमध्ये सबैभन्दा ठूलो मतले महाधिवेशनमा जित हासिल गरेका देउवा र महामन्त्री डा. शशांक कोइराला हुन्। डा. कोइरालाले अर्जुननरसिंह केसी र गगन थापालाई जिते। त्यसकारण कांग्रेसभित्र गगन पनि हारिसकेका छन्।

देशव्यापी रूपमा त गगनले युवालाई नेतृत्व दिए होलान्। तर, कांग्रेस पार्टीका युवालाई शशांकले आकर्षित् गरे। कांग्रेसले यतिबेला आफ्नो भविष्य शेरबहादुर देउवामै देखेको रहेछ। र, त्यसपछि महामन्त्री डा. कोइरालामै देखेको मान्‍नुपर्छ।

कांग्रेस कार्यकर्ताले आफ्नो भविष्य बीपी कोइरालाका पुत्रमै देखेका रहेछन् पनि भन्‍न सकिन्छ। अर्कातर्फ निर्वाचनमा हारको कारणबारे शेरबहादुर देउवाको निष्पक्ष समीक्षा गर्न कांग्रेसका कार्यकर्ता र सभासद्हरू तयार छैनन्। यस्तै असक्षम नेतालाई लिएरै हामी अगाडि बढ्छौं भन्‍ने निष्कर्षमा कांग्रेस कार्यकर्ता र सांसदहरू पुगेको देखिन्छ।

महामन्त्री डा. कोइराला कति सक्षम हुन् भनेर राष्ट्रले मूल्यांकन गरिरहेको होला। तर, कांग्रेस कार्यकर्ताहरूले भने उनलाई अत्यन्त सक्षम मानेको देखिन्छ।

कांग्रेसमा अहिले ‘मिसम्याच’ देखिन्छ। जनतासँग जोडिएको तथा जनताको विचार र अभिव्यक्ति दिने माध्यम एकथरि नेता भएका छन्। राजनीतिक नेता अर्कोथरि भइरहेका छन्।

कांग्रेस तीन किसिमको छ। एउटा फाइल बढुवा कांग्रेस छ। तमाम गल्ती गर्दागर्दै पनि हिजोका दिनमा नेतृत्व दिएको थियो, दुःख पाएको थियो र जेलनेल भोगको थियो भन्‍ने मनोविज्ञान कार्यकर्तामा देखिन्छ। हिन्दू धर्मशास्त्रमा पनि उच्च कुलमा जन्मेको अभिभावक चाहिन्छ। र, त्यस्तै नेता शेरबहादुर हुन् भनेर उनको फाइल बढुवाको कोर्सलाई सहीछाप गरेका छन्, कांग्रेस कार्यकर्ताले।

त्यससँगै वंशसत्ता पनि खोजेका रहेछन्, कांग्रेस कार्यकर्ताले। राजा त हामीले फाल्यौं तर योग्य र अयोग्यमा जाँदैनौं, हामीलाई वंश बीज चाहिन्छ भनेर उनीहरूले गगनलाई हराए, डा. शशांक कोइरालालाई जिताए।

कांग्रेसभित्र अर्काथरि मानिस पनि छन्। उनीहरू अहिलेको २१औं शताब्दीको नेतृत्व नयाँ ढंगको हुनुपर्छ भन्‍ने ठान्छन्। पार्टी एजेन्डा र नीतिबाट चल्नुपर्छ, संस्थागत, सक्षम र ‘कम्युनिकेटिभ’ हुनुपर्छ भन्‍ने सोच्छन्। राष्‍ट्रिय-अन्तर्राष्‍ट्रिय परिवेश-परिस्थिति बुझेको हुनुपर्छ भन्‍ने मानिसहरू कांग्रेसमा लाखापाखा लागेका छन्।

गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनको हिरो गगन थापा नै कांग्रेसभित्र हारेको ज्वलन्त उदाहरण छ। त्यसैले अहिले नेविसंघको महाधिवेशन भइरहेको छैन भनेर किन टाउको दुखाउने ? त्यहाँबाट आउने भनेका युवा हुन् र उनीहरू २१औं शताब्दीको हिसाब-किताबबाट सोच्छन्। तर, त्यस्तो खालको संगठन कांग्रेसलाई चाहिएको छैन।

कांग्रेसभित्र चाहे तरुण हुन् या अरू, सबैलाई टीका नै लगाइदिने हो। टीका लगाउने भनेको फाइल बढुवा या वंश सत्ताले हो। विधान बनाउने या नयाँ ढंगको संगठन बनाउने भन्‍ने कुरा अहिलेको कांग्रेसभित्रको सत्तालाई चाहिएको छैन। परिवर्तनसँग उनीहरूलाई डर छ।

पार्टीभित्र मुखरित भएको परिवर्तनको आवाज मात्र होइन, राष्‍ट्र र संविधानका कारण भएको परिवर्तन पनि कांग्रेसको अहिलेको नेतृत्वले आत्मसात गर्न सकेको छैन। जीवनभर धर्मनिरपेक्षताको वकालत गरेका बीपी कोइरालाका छोरा डा. शशांक अहिले हिन्दूराष्‍ट्रको वकालत गरेर हिँडिरहेका छन्।

बीपी व्यक्तिको धार्मिक आस्था र राज्यको चरित्र एकै हुनु हुँदैन भन्नुहुन्थ्यो,। जोसँग बीपीको रक्त सम्बन्ध छ, त्यससँग उहाँको राजनीतिक सम्बन्ध नभएको उदाहरण हुन् डा. शशांक। उनले बीपीलाई बाबुका रूपमा बुझे, राजनीतिक रूपबाट बुझेनन् र बुझ्‍न पनि सक्दैनन्। नेपालका युवा राजनीतिक संघर्षमा रहँदा बीपी पुत्रहरू आ-आफ्नो विषय पढ्दै थिए, कोही डाक्टर त कोही इन्जिनियर।

विगतमा बीपी कोइराला राष्‍ट्रिय राजनीतिको केन्द्रमा थिए। उनको निधनपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई राजनीतिको केन्द्रमा रहे। आज राष्‍ट्रिय राजनीतिको केन्द्रमा केपी शर्मा ओली र पुष्पकमल दाहाल छन्। राष्‍ट्रिय राजनीतिको केन्द्र, आशा र भरोसामा आज कांग्रेस नेतृत्व छैन।

चियापानमा एक ठाउँ उभिएर अरूका सामु ङिच्च हाँसे पनि ती चार मुख चारतिर छन् भन्‍ने सबैलाई जानकारी छ। चियापानलगत्तै रामचन्द्र पौडेलले आफ्ना समर्थकहरूको भेला डाक्नु त्यसको उदाहरण हो। अहिले कांग्रेसले रचनात्मक नेतृत्व गर्नुपर्ने आवाज उठिरहेको छ। त्यसको नेतृत्व स्वाभाविक रूपले शेरबहादुर देउवाले गर्नुपर्ने हो।

विपक्षी दलको नेताले जनताका ती आवाजहरू बोल्छ, जसका कारण भोलिको जनमत उसको पक्षमा आउँछ। विडम्बना, कुनै बेला देउवाकै निर्वाचन क्षेत्र रहेको कञ्‍चनपुरमा १३ वर्षकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिनसम्म पनि संसदमा उभिएर आवाज बुलन्द गर्न आवश्यक ठानेनन्। हत्यारा समात्‍न र निर्मलालाई न्याय दिलाउन देउवाको कुनै भूमिका देखिएन। बरु उनी अनुसन्धानमा लापरवाही गर्ने प्रहरीको संरक्षणमा लागेका छन् कि भन्‍ने शंका उठिरहेको छ।

यसभन्दा असंवेदनशील राजनीति अरू के हुन सक्ला ? सारा राष्ट्र र अन्तर्राष्‍ट्रिय समुदायले पनि आलोचना गरेको विषयलाई विपक्षी दलको नेताले अहिलेसम्म बोल्न भ्याएको छैन। महामन्त्री डा. कोइराला पनि यसबारे बोलिरहेका छैनन्।

जनतासँग जोडिनेगरी संसदमा बोल्नेमा अहिले गगन थापा र डा. मिनेन्द्र रिजाल देखिन्छन्। कांग्रेसमा अहिले ‘मिसम्याच’ देखिन्छ। जनतासँग जोडिएको तथा जनताको विचार र अभिव्यक्ति दिने माध्यम एकथरि नेता भएका छन्। राजनीतिक नेता अर्कोथरि भइरहेका छन्। त्यसले गर्दा कांग्रेसको वजन घटेको छ।

गगन पनि गनगनेजस्ता भइसके। उनको पार्टीभित्रको हैसियत बढिरहेको छैन। डा. शशांकसँग उनी हारिरहेका छन् र शशांकको हैसियत बढिरहेको छ। शशांकले राष्‍ट्रिय एजेन्डा बोकिरहेका छैनन्, प्रतिगामी एजेन्डा बोकिरहेका छन्। त्यसकारण कांग्रेस पनि प्रतिगामी भइरहेको छ।

सात वटै प्रदेशमा विपक्षी दलका नेता सम्बन्धित प्रदेशसभामा आफ्नो भूमिका निर्वाह गर्न सक्षम छन् त ? त्यसका लागि उनीहरूले जनताको बोली बोल्न जान्‍नुपर्‍यो। जनताको भावना बुझ्‍न सक्नुपर्यो। र, त्यसलाई २१औं शताब्दीको भावनाअनुसार प्रदेशसभा र सञ्‍चारमाध्यममा पुर्‍याउन सक्नुपर्‍यो। अनि मात्र रचनात्मक भूमिका देखिन सक्छ।

त्यसले सम्बन्धित नेताको मात्र होइन, कांग्रेस पार्टीको व्यक्तित्व पनि निर्माण गर्छ। प्रदेशसभाका विपक्षी दलका नेताहरूले भन्‍ने कुराले कांग्रेसमा नेतृत्व निर्माणको कोर्स निर्धारण गर्नेछ। स्थानीय तहहरूको सत्ता सम्हालेका कांग्रेस नेताहरूले कम्युनिस्टहरूले भन्दा राम्रो काम गरेर उदाहरण पेश गर्न सके भने मात्र पार्टीको व्यक्तित्व निर्माण हुन्छ।

यस्तो पथप्रदर्शन गर्ने फेरि पनि शेरबहादुर देउवाले नै हो। निश्‍चित रूपमा त्यसमा डा. शशांक कोइरालाको पनि जिम्मेवारी छ। तर, यो भूमिकामा दुवै नेता चुकिरहेका छन्।

विपक्षमा बसेर जनतासँग जोडिने र संवाद गरिरहने अवसर कांग्रेसलाई छ। यो कुरामा कांग्रेस पार्टी र यसको ‘र्‍यांक एन्ड फाइल’ पूर्ण रूपमा चुकिरहेको छ। अहिलेको शैलीबाट भने कम्युनिस्ट सरकारले ठूलो गल्ती गरेर जनताको नजरबाट गिर्‍यो भने कांग्रेसको भविष्य छ। नत्र भने आफ्नै नेतृत्व, नीति, सक्षमता र क्रियाशीलताबाट कांग्रेसको भविष्य छैन।

प्रतिकृया दिनुहोस