तेञ्जिङ र हिलारीको सम्झनामा अन्तर्राष्ट्रिय एभरेष्ट अल्ट्रा ट्रेल रेस
दोलखाको पर्यटकीय नगर जिरीमा बिहीबारदेखि अन्तर्राष्ट्रिय एभरेष्ट अल्ट्रा ट्रेल रेस प्रतियोगिता शुरु भएको छ ।
अत्यन्त जोखिमपूर्ण मानिने यस प्रतियोगितामा अमेरिका, इङ्ल्याण्ड, स्विजरल्याण्ड, स्पेन, पोर्चुगल, ब्रिटेन, नेदरल्याण्ड्स, अष्ट्रेलिया, मेक्सिको, टर्कीलगायत ११ देशका ४१ जना प्रतिष्पर्धीले भाग लिएका छन् । दुई महिलासहित चार जना नेपालीसमेत प्रतियोगितामा सहभागी रहेको आयोजकले जनाएको छ ।
प्रथम सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले प्रयोग गरेको ट्रेकिङ रुट प्रबर्द्धनका लागि सन् २०११ देखि अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिले यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस वर्ष १९ सय ५३ मिटरको उचाइमा रहेको जिरीबाट दौड शुरु भएको हो ।
अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका प्रमुख कामी शेर्पाका अनुसार २७ कात्तिकसम्म चल्ने दौड सोलुखुम्बुको पीके, नाम्चे र तेङ्बोचे हुँदै लुक्ला पुगेर समापन हुनेछ । प्रतियोगितामा पुरुष र महिलाको छुट्टाछुट्टै मूल्यांकन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूले जनही एक लाख ५० हजार, एक लाख २० हजार र एक लाख नगद तथा ट्रफी
प्राप्त गर्नेछन् ।
शर्मिला बुढाथोकी, दोलखा