“ठेकेदारलाई काम गर भन्दा कांग्रेस रिसायो”
ठेकेदारहरूलाई समयमा काम सक्न निर्देशन दिँदा प्रमुख प्रतिपक्षी दल कांग्रेस रिसाएको दाबी सत्तारुढ नेकपाका नेता प्रभु साहले गरेका छन्।
पुल, सडक, भवनलगायत भौतिक संरचनाको ठेक्का लिएका कांग्रेस निकट ठेकेदारले समयमा र सम्झौताअनुसारको काम नगर्ने समस्या रहेको उनको दाबी थियो। समयमा काम गर भन्दा नेकपा नेतृत्वको सरकारविरुद्ध गाली गलौजमा उत्रिएको नेकपाका प्रदेश-२ अध्यक्ष तथा सांसद साहको भनाइ थियो।
रौतहटका फत्तेपुर, बगही, पिपरिया र भीमडाबरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमहरूलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भौतिक पूर्वाधार तथा निर्माणको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्दा कांग्रेसले लोकतन्त्र नै खतरामा परेको बताउने गरेको दाबी गरे।
रौतहटका कांग्रेसी ठेकेदारहरूले पनि काममा हदैसम्मको लापरवाही गरेको आरोप उनको थियो। चुनावको समयमा आफूले जनतासित गरेका सम्पूर्ण प्रतिबद्धता क्रमशः पूरा गर्दै लगेको उनको भनाइ थियो।
कार्यक्रममा संघीय सांसद समिना हुसैन तथा प्रदेश सांसद कुन्दन कुशवाहाले केन्द्रदेखि स्थानीय तहसम्मका कांग्रेसी ठेकेदारहरूबीच खैलाबैला मच्चिएको बताए। एक जना पूर्वठेकेदार तथा सांसद पक्राउ परेपछि अन्य ठेकेदारहरूले पनि डरले काम थालेको उनीहरूको दाबी थियो।