नेतालाई जेल हालेर सत्ता चलाउन खोजेकाले लोकमानलाई महाभियोगः योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले लोकमानसिंह कार्कीले समानान्तर सत्ता चलाउन खोजेकोले महाअभियोग लगाउनुपरेको बताएका छन् ।
आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव भट्टराईले लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नु उनको नियुक्ति गर्दा भएको गल्ती सच्याउने अवसर भएको समेत बताए ।
“लोकमानले सबै दलका शीर्ष नेताहरुलाई भ्रष्टाचारको आरोपमा जेल हाल्ने र समानान्तर सत्ता चलाउने सपना देखेका थिए,” भट्टराईले भने, “ त्यसैले उनलाई महाभियोग लगाउनुपरेको हो ।”
लोकमान प्रकरण, संविधान संसोधन र सत्ता समिकरण फरक फरक विषय भएकोले एकै ठाउँमा जोडेर नहेर्न पनि उनले आग्रह गरे ।
‘संविधान संशोधनमा विमति छैन’
भट्टराईले संविधान संसोधनमा एमालेको विमति नरहेको तर, त्यसका लागि आधार र कारण स्पष्ट हुनुपर्ने बताए । “संविधान संसोधनमा एमालेको विमति छैन्, कसरी विषयबस्तु प्रस्तुत हुन्छन्, त्यसै अनुसार एमालेले धारणा बनाउँछ,” उनले भने ।
उनले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था गराउन एमाले चुकेको भन्दै अबको संशोधनमा त्यो पनि अजेण्डा हुनसक्ने बताए ।
उनले मधेशमा मुख्य समस्या भनिएका भाषा तथा नागरिकताको विषयमा नयाँ संविधानमै स्पष्ट संवोधन भैसकेको दाबी गर्दै निर्वाचन क्षेत्र निर्धारण जनसंख्या र भूगोल दुबैको आधारमा तय हुने बताए ।
सुरेश बिडारी, वीरगञ्ज