आगलागीबाट सुकुम्बासीको घर ध्वस्त
गए राति रौतहट सदरमुकाम गौर-५ मा एक सुकुम्बासी परिवारको घर आगलागीबाट ध्वस्त भएको छ।
आफ्नो जग्गा नभएको तथा अर्काको जमिनमा छाप्रो बनाएर बस्दै आएका इस्लाम हुसैन देवानको घरमा बुधवार राति ११ बजे आगलागी भएको हो। आगलागीबाट दुई वटा बाख्रा जलेर मरेका छन्।
घरभित्र रहेका सबै सामान नष्ट भएका छन्। मध्यरातमा प्रहरीको सहयोगले मुस्किलले आगो नियन्त्रणमा आएको स्थानीय बासिन्दाले जानकारी दिए। घरबाट कुनै सामान बाहिर निकाल्न नसकिएको इस्लामले बताए।
गौर नगरपालिकाका मेयर अजय गुप्ताले घरबारविहीन परिवारलाई पुनःस्थापना गराउने प्रतिबद्धता जनाएका छन्।