समाचारबिहिवार, कार्तिक २२, २०७५

सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता- राजपा नेता झा

हिमालखबर

राजपा नेपालका अध्यक्ष मण्डल सदस्य अनिलकुमार झाले पार्टीले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताएका छन्।

दीपावली, नेपाल सम्वत तथा छठको अवसरमा रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा झाले सरकारले संविधान संशोधनतर्फ चासो नदेखाएकाले मधेश आन्दोलनका मागहरू सम्बोधन हुन नसकेको बताए। “आन्दोलनमा उत्रिनुको विकल्प छैन,” उनले भने।

छठभन्दा पहिले वा त्यसलगत्तै राजपा अध्यक्ष मण्डलको बैठक बसी नेकपाको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने नेता झाले स्पष्ट पारे। राजपा नेपालले वैशाखमा महाधिवेशन गर्नैपर्ने अवस्था रहेको उनले बताए। एकातिर मधेश आन्दोलनको रक्षा र अर्कोतिर पार्टी महाधिवेशनको तयारी गर्नुपर्ने दोहोरो दायित्वबाट गुज्रनु परेको नेता झाले बताए।

कार्यक्रममा प्रदेश राज्यमन्त्री डा. डिम्पल झाले प्रदेश सरकारलाई केन्द्रले कागजमा अधिकार दिएको तर साँचो आफैंले राखेको आरोप लगाइन्। सोही कारण प्रदेश सरकारहरूले गति लिन नसकेको उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस