युभेन्टसबाट पहिलो युरोपियन गोलको खोजीमा रोनाल्डो
युरोपियन च्याम्पियन्स लिग फूटबलको इतिहासमा अहिलेसम्मकै सर्वाधिक गोलकर्ता हुन्, क्रिष्टियानो रोनाल्डो । च्याम्पियन्स लिगका १५५ खेल खेल्ने क्रममा उनले कूल ११५ गोल गरिसकेका छन् ।
पोर्चुगाली स्टार रोनाल्डोभन्दा पछि अर्जेन्टिनी फूटबल स्टार र बार्सिलोनाका लिओनल मेस्सीले उनलाई पछ्याइरहेका छन् । इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडबाट युरोपियन फूटबलमा छाएका रोनाल्डोलाई यो कीर्तिमान दिलाउने काम भने स्पेनिस क्लब रियल मड्रिडले गरेको हो । रियल मड्रिडमै रहँदा उनले पाँचौं पटक फिफा वर्ष खेलाडीको उपाधि जिते । मड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि दिलाउन सबैभन्दा महत्वपूर्ण भूमिका बहन गरे ।
रोनाल्डोलाई क्लब फूटबलकै इतिहासमा सर्वाधिक सफल खेलाडीका रूपमा हेरिन्छ ।
यो सबै विगतको कुरा हो । कारण, रोनाल्डो अहिले रियल मड्रिडमा छैनन् । यही सिजन कीर्तिमानी पारिश्रमिकमा उनी आफ्नो करिअरको सर्वाधिक सफल क्लब मड्रिड छाडेर इटालियन च्याम्पियन युभेन्टसमा आबद्ध भएका छन् ।
मड्रिड छाडेर युभेन्टसमा आबद्ध हुने रोनाल्डोको निर्णयले फूटबल पण्डितहरूलाई नै आश्चर्यमा पार्यो । संसारभरका फूटबलप्रेमीहरूले यसलाई सामान्य रूपमा लिएनन् । कारण, मड्रिडको तुलनामा युभेन्टसलाई निकै ‘लो प्रोफाइल’को क्लबका रूपमा लिइन्थ्यो । कतिपयले यो निर्णयबाट रोनाल्डोले आफ्नो फुटबल करिअरकै ‘जुवा खेलेको’ टिप्पणी पनि गरे ।
तर, ३३ वर्षीय रोनाल्डोले युभेन्टसमा पनि आफ्नो लयलाई कायमै राखेका छन् । यो सिजन युभेन्टसबाट सबै प्रतियोगितामा १३ खेल खेल्ने क्रममा रोनाल्डोले ७ गोल गरेका छन् भने ६ गोलमा महत्वपूर्ण पास उपलब्ध गराएका छन् ।
तर, रोनाल्डो अझै पनि इटालियन क्लबबाट पहिलो युरोपियन गोलकै खोजीमा छन् । युरोपियन च्याम्पियन्स लिगमा पहिलो गोलको पर्खाइमा रहेका रोनाल्डो बुधबार अबेर राति लिगको समूह चरणको खेलमा आफ्नै पुरानो क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध युभेन्टसका घरेलु मैदानमा भिड्दैछन् । धेरैको आशा छ- रोनाल्डोले यही खेलमा युभेन्टसबाट च्याम्पियन्स लिगमा गोलको खाता खोल्नेछन् ।
पोग्बा भन्छन्- रोनाल्डोका लागि गोल गर्नु पानी पिएसरह
रोनाल्डो बुधबार राति च्याम्पियन्स लिगको खेलमा युभेन्टसका लागि आफ्नो पूर्वक्लब म्यानचेस्टर युनाइटेडविरुद्ध मैदानमा ओर्लंदा म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा पनि आफ्नो पूर्वक्लब युभेन्टससँग आमनेसामने हुनेछन् ।
च्याम्पियन्स लिगमा पहिलो गोलको खोजीमा रहेका रोनाल्डोबारे ठट्यौली शैलीमा पोग्बाले भनेका छन्, “उनका लागि गोल गर्नु र पानी पिउनु उस्तै उस्तै हो ।”
युभेन्टसले रोनाल्डोलाई अनुबन्ध गर्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै पोग्वाले भने, “रोनाल्डोजस्तो खेलाडी टिममा हुनु आफैंमा महत्वपूर्ण कुरा हो ।”