ब्लगबुधवार, कार्तिक २१, २०७५

फूलको नाश नगर्ने कि!

हिमालखबर

-ध्रुवसत्य परियार

जीवन, जीवनको सार र सौन्दर्यलाई फूलसँग तुलना गरिएका परिभाषा हाम्रा लागि नौला होइनन्। फूल र जीवनलाई जोडेर धेरै गीत र कविता लेखिएका छन्। त्यसैमध्येको हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पाप लाग्छ’ कविता।

‘नटिप्नु हेर कोपिला,
नचुँड्नु पाप लाग्दछ।
नच्यात्नु फूल नानी हो,
दया र धर्म भाग्दछ।’

सानैमा पढेको लक्ष्मीप्रसाद देवकोटाको यो कविताले मलाई फूलबारे सोच्ने बनाएको थियो। त्यतिबेला आफैंसँग प्रश्न गरेको थिएँ- के फूलको कोपिला टिप्दा, चुँडाउँदा पाप लाग्ने हो? अनि, फूललाई च्यात्दा दया र धर्म भाग्छ? पाप, दया र धर्म के हो र यो कसरी फूलसँग जोडिएको छ? यी प्रश्न सरल होइनन् र यसको जवाफ त्यतिबेला पाउन सकिनँ। अहिले, यसबारे मेरो आफ्नै बुझाइ र दर्शन छ।

देवकोटाले कुन बोध, बुझाइ र दर्शनमा यो कविता लेखे, त्यो बेग्लै खोजको पाटो हो। तर, यस कविताले मेरो कलिलो मस्तिष्कलाई धेरै प्रभाव पारेको थियो। तिहार आउँथ्यो, दिदीले जब फूलको माला लगाइदिन्थिन्, मालासँगै मेरो मन देवकोटाको कवितातिर बहकिन्थ्यो, पाप र धर्मका प्रश्नले सताउँथ्यो। अचेल त लाग्छ, जीवन र प्रकृतिको दर्शन लुकेका यस्ता गम्भीर कविता साना कक्षामा राख्नुहुँदैन। राख्ने हो भने शिक्षकले यसबारे राम्रोसँग बुझेको हुनुपर्छ र उसले विद्यार्थीको जिज्ञासा मेटाउन सक्नुपर्छ।

कसैले चुँडे वा नचुँडे पनि प्रकृतिको अनुपम उपहार फूलको आफ्नै जीवन छ। प्रकृतिले त यसमाथि पहिलो हक मौरी, भमरा, पुतलीलगायत जीवलाई दिएको छ, जसका कारण परागसेचन हुन्छ।

फूलैफूलको पर्व तिहारको छेको पारेर सञ्चार माध्यममा ‘करोडौंको फूल आयात’, ‘फूलमा आत्मनिर्भर हुन फूलखेती गरिँदै’जस्ता समाचार आए। तिहारमा मालादेखि हामी धेरैले पूजा-अनुष्ठान र व्यक्तिको सम्मानमा फूलको प्रयोग गर्छौं। खासगरी, हिन्दू धर्मावलम्बीले मनाउने पर्व तिहारका बेला हामीकहाँ फूलको बढी प्रयोग हुन्छ।


हामीकहाँ फूलको प्रयोजन जसरी भइरहेको छ, त्यसबारे सही ढंगले सोच्नुपर्ने बेला आएको छ। यसरी नै फूलको प्रयोगले हाम्रो अर्थतन्त्रलाई कहिल्यै हित गर्ने देखिँदैन। हामीले भारतबाट फूल आयात गर्दा पनि रकम बिदेसिन्छ भने देशमै फूलको उत्पादन गर्दा पनि यसले भूमि र जनशक्ति ओगट्छ।

हाम्रो आस्था र संस्कार एकातिर छ तर हामीले जसरी फूलको प्रयोग गरिरहेका छौं, त्यो त्यति आवश्यक नभई परम्पराको निरन्तरता र विलासीपना मात्रै हो। जहाँसम्म हामीले पूजामा फूलको प्रयोग गरिरहेका छौं, यो हाम्रा पुर्खाले बनाएको पूजाको विधिको निरन्तरता मात्रै हो। देउताका लागि फूल चुँडेर चढाउनुपर्छ, पशुको बलि दिनुपर्छ भन्ने छैन। यद्यपि, यो नितान्त आस्थाको कुरा भएकाले हामीले यसमा फूलको प्रयोग गर्दा भयो।

हामी फूलमा आत्मनिर्भर हुने कुरा गर्दैछौं, यो अहिलेका लागि त्यति आवश्यक होइन, जति हाम्रा लागि अन्य खाद्यवस्तु आवश्यक छन्। हामीले त हाम्रो माटोलाई फूलको साटो खाध्य बालीमा लगाउनुपर्ने होइन र? हामीले मात्रै किन, संसारले नै खाद्यवस्तु उत्पादनमा जोड दिनुपर्छ। हाम्रो चिन्तन संसारका मानिसको खाद्य सुरक्षा होस् भन्नेतर्फ हुनुपर्छ। फूलबाट कुनै तेल वा पर्फ्युम उत्पादन हुन्छ भन्ने हाम्रो चिन्तन हुनुपर्छ।

हामी नेपालीले पूजा र तिहारमा प्रयोग गर्नका लागि फूल किन्नैपर्छ भन्ने छैन। यसरी सोच्ने हो भने हामी यति अल्छी हुन्छौं कि भोलि भारत र चीनले हाम्रा लागि जमरा उत्पादन गरिदिनुपर्ने दिन आउन सक्छ।

जसरी हामीले दशैंका लागि घरभित्रै जमरा उत्पादन गर्छौं, त्यसरी नै घरदैलो, आँगनमै फूल फुलाउन नसकिने होइन। भए जमिन, नभए गमलामा पनि हामीले फूल फुलाउन सक्छौं, यसले हाम्रो वातावरण पनि सुन्दर बनाउँछ। गमलामा फूल उत्पादनका लागि हामीले धेरै मेहनत र लगानी गर्नुपर्ने होइन, सानो दैनिक प्रयासबाटै फूल उत्पादन हुन सक्छ। अर्कोतिर, फूल र गमलाको व्यापारबाट देशभित्रै कतिले आर्थिक उपार्जन गर्न सक्छन्।

यो मेरो नितान्त व्यक्तिगत विचार केवल बहसका लागि हो। अहिले हामी संक्रमणकालमै छौं। हाम्रो संघीय संरचना अभ्यासको क्रममा छ। हामीले मान्दै आएका कतिपय पुरातन रीतिरिवाज वा संस्कृति आजको सामाजिक न्यायको चेतनासँग मिल्दैन र धेरै त्यस्ता विषयमा बहस पनि गरिरहेका छौं। निश्यच नै आजको विज्ञान र सामाजिक न्यायका दृष्टिले हामीकहाँ सुधार्दै जानुपर्ने धेरै कुरा छन्।

तिथिका हिसाबले आज हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पनि हो। यो अवसरमा उनकै कवितालाई लिएर यो बहसको विषय उठाएँ। यसमा सामाजिक न्यायको कसीमा पाठकले आफ्ना तर्क राख्नुहुनेछ भन्ने अपेक्षा छ।

प्रतिकृया दिनुहोस