रिपोर्टबुधवार, कार्तिक २१, २०७५

घन्किनै छाडे परम्परागत भाका

मस्त केसी

दशक लामो हिंसात्मक द्वन्द्व, नयाँ पुस्ताको बेवास्ता र प्रविधिको विकासले स्थानीयपन बोकेका गीत, नृत्य र परम्परागत संस्कृति लोप हुँदै गएका छन्।

लहरे नाचमा जोडी मादल बजाउँदै ।

दाङको तुलसीपुर उपमहानगरपालिका रझेनामा यो वर्ष हरेरी पूजाका दिन बल्लतल्ल परम्परागत हुरडुंगा नाच भयो। थारु समुदायले हरेरीलाई दशैं आगमनको पहिलो दिन मान्ने भएकाले पूजासँगै नाचगानको प्रचलन छ। दुई दशक अघिसम्म हरेरी पूजाका अवसरमा रातभर नाचगान चल्थ्यो। नाच्ने र नाच सिक्नेको ताँती लाग्थ्यो तर यो वर्ष हुरडुंगा नाचको नेतृत्व गरेका रझेनाका जीवराज चौधरी (५७) लाई समूहमा आवश्यक सदस्य संख्या पुर्‍याउनै गाह्रो भयो ।

“जसोतसो जुगाड गरेर नाच पूरा गरियो,” चौधरी भन्छन्, “यही अवस्था रहने हो भने केही वर्षमा यस्ता धेरै नाचसँगै संस्कृति मासिने खतरा छ।”

पहिले मध्यपश्चिम तराईका थारू गाउँमा एक महीना अगावै दशैंको रौनक शुरु हुन्थ्यो । हरेक दिन साँझ शुरु हुने नाच रातको दोस्रो प्रहरसम्म चल्थ्यो । मादल र मञ्जिराको आवाजले तिहारसम्मै प्रगन्ना गुञ्जायमान हुन्थ्यो । पछिल्लो समय यो संस्कृति हराउँदो छ ।

“युवाहरू संस्कृति जोगाउनुपर्छ भन्छन् तर उनीहरूलाई आधुनिकताले नराम्रोसँग गाँजेको छ,” जीवराज भन्छन्, “कतिपय गीत र नाच लोप भइसके, संस्कृति जोगाउन धौ-धौ छ ।”

राप्ती अञ्चलको पहाडी जिल्ला सल्यानमा अचेल लहरे, सिंगारू र सोरठी नाच्न जान्ने भेट्टाउनै मुश्किल छ । चाडपर्वका बेला राप्ती अञ्चलको सेरोफेरोमा यस्ता ग्रामीण लोकभाका नघन्केको धेरै भइसक्यो । जोडी मादल, झ्याली, ट्याम्की, मुरली अनि गीतको तालमा खुट्टामा पैचन बाँधेर नाचिने सोरठी गुरु पैसरी, बाइस पैसरी, बाघ पैसरी र फटके पैसरीजस्ता फरक-फरक तालमा नाचिन्थ्यो । ०५५-५६ सालसम्म यस्ता नृत्यको अगुवाइ गरेका पर्साराम डाँगी (६५) भन्छन्, “अब त म आफैंलाई पनि बिर्सिसकें जस्तो लाग्छ ।”

यस्ता लोक नृत्य नाच्ने मात्रै होइन, नाचका लागि गाउन-बजाउन जान्ने भेट्टाउन समेत मुश्किल छ । सोरठी, लहरे र सिंगारू एकै बसार्इमा नाचिन्छ । सोरठीबाट शुरु भएर लहरे हुँदै सिंगारूमा पुगेर नाच टुंगिन्छ । रातभरि लहरे र सोरठी नाचेपछि उज्यालो हुने बेलामा सिंगारू नाचिने हो । सिंगारुलाई उज्यालोको संकेत मानिन्छ।

अहिलेको पुस्ताले परम्परागत ‘सारंगे’ नाचलाई ‘मयूर नाच’ मा परिमार्जन गरेको छ । सारंगेमा गीत हुँदैन । जोडी मादल, मुरली र झ्यालीको तालमा सारंगे नाच्ने सल्यानी अचेल भेटिँदैनन् ।

सल्यानको थारमारे आसपासको क्षेत्रमा सारंगेको अगुवाइ गरेका धनिराम खत्री (६६) द्वन्द्वकालमा दाङको पञ्चकुले बसाइँ सरे । सारंगे जान्ने लोकगायक खर्कबहादुर बुढा (६१) ले पनि काठमाडौंलाई कर्मथलो बनाएका छन् । उनीहरूसँगै गाउँबाट लोप भएको सारंगे ब्युँताउने कोही देखिएको छैन ।

लोकगायक बुढा भन्छन्, “राजनीतिक कारणले ग्रामीण भाकाहरू ५० को दशकको मध्यदेखि गाउन र नाच्न छोडियो ।” आञ्चलिकता बोकेका मौलिक भाकामा लामो समय विराम लागेपछि पुनः निरन्तरता दिन नसकिएको उनको बुझाइ छ । यस्ता भाका छोप्न जानेको पुस्ताका कति बिते, कति बसाइँ सरे, कति निरन्तरता दिन नसक्ने वयमा छन् ।

अचेल मध्यपश्चिम पहाडका बस्तीहरूमा ठाडी भाकासमेत सुनिन छाडेको छ । ठाडी जान्ने लोकगायिका लीलावती बुढा (५९) पनि काठमाडौंमा बस्छिन् । गाउँघर गएका बेला सांस्कृतिक कार्यक्रमको संयोग जुरेछ भने उनी ठाडी प्रस्तुत गर्छिन् । तर, फिल्मी गीतमा अभ्यस्त युवा पुस्ता ठाडीमा रमाउन जानेकै छैन ।

विद्युतीय सञ्चारमाध्यमसँगै अति आधुनिकताले पनि परम्परागत नाच र गीत हराउन थालेको लीलावतीको धारणा छ । तर, मौलिक भाका सखापै हुनुमा त्यसभन्दा बढी राजनीतिक कारण देख्छिन् उनी ।

“सेना र माओवादी दुवैको त्रास थियो,” लीलावती बुढा भन्छिन्, “गाउँघरमा बाँच्नै समस्या थियो, नाच्नु, गाउनु र रमाउनु त परको कुरा ।” यस्ता मौलिक भाका र नाच नाच्दै गाउँदै एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्थ्यो । सँगैसँगै परम्परा, संस्कार र संस्कृतिको हस्तान्तरण हुन्थ्यो, दुई पुस्ताको बीचको सम्बन्ध दरिलो बन्थ्यो । हिंसात्मक द्वन्द्वले दुई दशकसम्म नाचगान ठप्पै भएपछि धेरै यस्ता लोक भाका र नृत्य लोप भएको उनको भनाइ छ ।

मध्यपश्चिममा हिउँपा नाच, धमारी र सिरौली गीतको पनि नामोनिसान छैन । लीलावती भन्छिन्, “नाच्न गाउन छोडेको लामै समय भइसकेकोले हिउँपा र सिरौलीको ताल मैले पनि बिर्सिसकें ।” ०४९-५० सालतिर रातभरि यस्ता गीतमा साथीसँगीसँग रमाएको उनलाई अहिलेजस्तै लाग्छ ।

बिहेबटुलो र अन्य अवसरमा उनलाई नाच्न गाउन छिमेकी जिल्ला रुकुम र रोल्पाबाट समेत बोलाइन्थ्यो । तर, अहिले यस्ता गीतमा साथ दिने उनका न साथीसँगी छन्, न नयाँ पुस्ताले सिकेको छ । देशैभर ख्याति कमाएको राप्तीको टप्पा होस् या हरेक मेलापर्वमा नाचिने-गाइने वनघाडी र वीर होउन्, इतिहासमा सीमित हुने क्रममा छन् । पाका पुस्ताका एकाधबाहेक मौलिक विधा जान्ने र बुझ्ने कमै भेटिन्छन् ।

तराईको थारू समुदायमा प्रचलित झर्रा नाच पनि अब इतिहास भइसकेको छ । बिहेबारीमा गाइने माँगर, चैत-वैशाखमा गाइने सजना, दशैंमा गाइने दिन नच्वा, बिहेग्रा, महिरावणलगायत गीत लगभग हराइसके । हाटबजार जाँदा-आउँदा, बास बस्दा र थकाइ लागेका बेला गाउने दमारे भाका पनि गुञ्जिन छाडिसक्यो । त्यस्तै सुदूरपश्चिममा गाइने धुमारी, फाग, बालो नचाउने, ठाडो खेल, गोरया कथा, धुमारी रन्झनिया लगायत गीत पनि सुनिन छाडेका छन् ।

राजनीतिको दुष्प्रभाव

सामाजिक आत्मीयता र आर्थिक कठिनाइका, मायाप्रीति र विरहका लोकभाकासमेत अचेल विरलै सुनिन्छन् । स्थानीयपनको आभास दिने, घाँस, दाउरा, मेलापात र चाडबाडको झल्को दिने मौलिक भाका कसरी हराए त ? सल्यानको महेन्द्र माविमा सामाजिक विषयका शिक्षक हीरालाल बस्नेत दशवर्षे हिंसात्मक द्वन्द्व नै यसको प्रमुख कारण मान्छन् ।

सल्यान सदरमुकाम खलंगामा सारंगे नाचमा रमाउँदै स्थानीय बासिन्दा । तस्वीर स्रोत- सल्यान दृष्टिकोण

“द्वन्द्वले विशेषगरी रातको समयमा गाइने र नाचिने भाका बन्द नै गरायो,” उनी भन्छन् । १० वर्षसम्म नगाइएका र ननाचिएका ती भाका र नाच विस्मृतिमा पुगिसकेको बताउने उनी त्यसबाट समग्र संस्कृतिमा अतिक्रमण भएको बताउँछन् ।

२०५२ सालमा राप्ती अञ्चलको पहाडी जिल्लाबाट शुरु भएको तत्कालीन नेकपा माओवादीको हिंसात्मक विद्रोह अन्य पहाडी जिल्लाहरूमा समेत छिट्टै सल्कियो । रातभर नाचगान हुने त परको कुरा दिनमै समूहमा भेला हुन पनि सकस हुने भयो । गाउँबाट शहरतिर पलायन हुने प्रक्रिया बाक्लियो । माओवादीले अग्रगमनका नाममा मौलिक परम्परा र संस्कृतिको अभ्यासमा बन्देज लगायो । लोकसंस्कृति, नृत्य र गीत पनि बन्द गराइए ।

शान्ति प्रक्रिया शुरु भएपछि पनि गाउँ-गाउँमा दलीय राजनीतिले जरा गाड्यो । स्थानीय कलाकारहरू दलका नाममा विभाजित भए । एउटै समूहका सदस्य एकअर्कालाई सहन नसक्ने भए । सांस्कृतिक कलाकारहरू एकजुट हुन नसक्दा हराएको लोक संस्कृति पुनर्जागृत हुनै पाएन । सल्यानको वनगाड क्याम्पसका प्रमुख गणेश अधिकारी भन्छन्, “स्वार्थी राजनीतिले घर-घरमा दलका कार्यकर्ता बनायो, गाउँमा मादल बज्नै छाड्यो ।”

गायक खर्कबहादुर बुढा भन्छन्, “नयाँ पुस्ताले संरक्षणमा चासो दिएन, राज्यलाई वास्ता छैन, कसरी जोगिन्छ संस्कृति ?” संस्कार र संस्कृति सामाजिक एकताको सूत्र भएको बताउने अध्यापक अधिकारी यस्तो सूत्र टुट्दै जाँदा समाजमा अनेकौं विकृति मौलाएका देख्छन् । उनी भन्छन्, “कानूनले नियन्त्रणमा राख्न नसक्ने विषयलाई संस्कृतिले नियन्त्रित गरिरहेको हुन्छ ।”

रैथाने प्रविधि पनि हराउँदै

आधुनिक प्रविधिको आकर्षण र सुविधाका कारण मात्रै होइन द्वन्द्वको प्रभावले रैथाने प्रविधि लोप भयो र त्यसले पनि संस्कृतिमा प्रभाव पार्‍यो । परम्परागत घरेलु औजारहरू हराएपछि ग्रामीण पहिचान पनि मेटिँदो छ । उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चूक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत ‘कोल’ गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अनाज कुट्ने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छ । जाँतोको र्‍याइँ र्‍याइँ पनि सुनिँदैन ।

अध्यापक बस्नेत दिनभरि खेतबारीमा काम गरेर राति जाँतोमा पिस्ने, पानीघट्ट जाने र ढिकी कुट्ने चलन द्वन्द्वकै कारण हराएको बताउँछन् । द्वन्द्वकालमा राज्य र विपक्षी दुवै पक्षको डरले स्थानीयहरू राति हिंड्न छोडे । फलस्वरुप रातको जनजीवनसँग जोडिएका यस्ता रैथाने प्रविधि पनि हराए । र, सामूहिकतामा गरिने काम बन्द भएपछि त्यस्ता अवसरमा गाइने भाका पनि हराए । लोकगायक बुढा भन्छन्, “सामूहिक रूपमा प्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि थियो, त्यससँगै संस्कृति जगेर्ना हुन्थ्यो ।”

प्रतिकृया दिनुहोस