समाचारबुधवार, कार्तिक २१, २०७५

नांगा पाखामा ढकमक्क सयपत्री

हिमालखबर

उराठलाग्दो सुख्खा डाँडामा ढकमक्क सयपत्री फूल। नीलकण्ठ नगरपालिका-१ खाल्टे पात्ले पुग्ने जो कोहीलाई सुख्खा ठाउँमा ढकमक्क सयपत्रीले मनै लोभ्याउँछ।

होम स्टे गाउँका रूपमा पनि चिनिन्छ, पात्ले। व्यावसायिक सयपत्री फूल खेतीको उत्पादन शुरु भएपछि गाउँले दंग छन्। स्थानीय शेरबहादुर गुरुङको अगुवाइमा शुरु भएको व्यावसायिक फूल खेतीले पहिलो वर्ष नै सोचेभन्दा धेरै सफलता हात लाग्ने किसानहरूको आशा छ।

यसअघि कोदो खेती मात्र हुन्थ्यो, त्यहाँ। फूल खेती शुरु भएपछि नांगा पाखा रंगीचंगी बनेका छन्। एउटा बारीको पाटाबाट मात्र रु. ६० हजारभन्दा बढी आम्दानी हुने शेरबहादुरको आशा छ।

“दुई हजारको कोदो फलाउन पनि कठिन थियो तर सयपत्री खेती गरेपछि हातमा सोचेभन्दा धेरै नगद आउने भयो,” उनी भन्छन्। राम्रो आम्दानी र भारतीय फूल आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले व्यावसायिक फूल खेतीमा लागेको उनको भनाइ छ।

उनकै अनुसरण गरेर छिमेकीहरूले पनि सयपत्री खेती थालेका छन्। असारमा रोपिएको बीउबाट ५ महिनापछि आम्दानी दिन्छ। वर्षभरिमा २-४ हजारको आम्दानी गर्न कठिन हुने बारीमा ५०-६० हजार नगद हात पर्ने भएकाले गाउँले हौसिएको गुरुङको भनाइ छ।

सानुबाबु तिमिल्सिना, धादिङ

प्रतिकृया दिनुहोस