कला/साहित्यबुधवार, कार्तिक २१, २०७५

'ठग्स अफ हिन्दोस्तान' ले ४ दिनमा २ सय करोड कमाउने प्रक्षेपण

हिमालखबर

भारतको दीवाली पर्वको अवसर पारी बिहीबारदेखि आमिर खानको फिल्म 'ठग्स अफ हिन्दोस्तान' भव्य रूपमा रिलिज हुँदैछ। पछिल्लो पाँच वर्षमा आमिरलाई पहिलो पटक दीवालीमा फिल्म रिलिजको मौका जुरेको हो।

उनी र यशराज ब्यानरले यसको भरपूर फाइदा उठाउन चाहिरहँदा लामो बिदाका कारण कमाइ पनि धेरै हुने देखिएको छ। यही आधारमा 'ठग्स अफ हिन्दोस्तान' अहिलेसम्मकै बलिउडमा सबैभन्दा बढी ओपनिङ कलेक्सन गर्ने फिल्म बन्न सक्ने आकलन गरिएको छ।

बलिउडका व्यापार विश्लेषक कोमल नाहटाका अनुसार ओपनिङको दिनमा यो फिल्मले भारु ५० करोडभन्दा बढी कमाउने अपेक्षा छ। त्यसो भएमा 'ठग्स अफ हिन्दोस्तान' अहिलेसम्मको सबैभन्दा ठूलो ओपनिङ पाउने फिल्म हुनेछ।

यो फिल्मलाई भारतमा ५ हजार र विभिन्न देशका २ हजार स्क्रिनमा रिलिज गरिँदैछ। यसलाई अहिलेसम्मको सबैभन्दा धेरै स्क्रिनमा रिलिज हुने हिन्दी फिल्म भन्न सकिन्छ।

दीवालीको बिदासहित सप्ताहन्त चार दिनको भएकाले करीब २०० करोड कमाइ हुन सक्नेछ। विश्लेषकहरूले चार दिनमा १८० देखि २०० करोडसम्म कमाउने प्रक्षेपण गरेका छन्।

'ठग्स अफ हिन्दोस्तानको बजेट २४० करोड छ, जसमा २२० करोड फिल्म निर्माणको लागत र २० करोड प्रचारप्रसारको खर्च हो। यस हिसाबले पहिलो सप्ताहन्तमै फिल्मले आफ्नो लगानी असुल गरिसक्ने अनुमान गरिएको छ। यसअघि फिल्मले स्याटेलाइट र डिजिटल अधिकार बिक्रीमार्फत् १५० करोड पाइसकेको छ। एजेन्सी

प्रतिकृया दिनुहोस