समाचारबुधवार, कार्तिक २१, २०७५

विराटनगर-बथनाहा गुड्यो रेल (फोटो फिचर)

कमल रिमाल

 

विराटनगर- भारत अररियाको बथनाहाबाट विराटनगर हुँदै कटहरी पुग्‍ने मालवाहक रेलको १८ कात्तिकमा परीक्षण गरियो। विराटनगर-१८ मा निर्माणाधीन नेपाल-भारत संयुक्त भन्सार जाँच चौकीसम्म रेल आए पनि मुख्य स्टेसन पुग्‍ने बाटो निर्माण अन्योलमै छ।

भारतीय प्राविधिकहरूको टोली चढेको रेलको इन्जिन भारतबाट १८ कात्तिकमा नेपाल प्रवेश गर्‍यो। नेपाली पक्षले रेलको स्वागत गर्‍यो। तर, रेल गुड्ने लिक नेपालतर्फको जग्गा विवादले बन्‍न सकेको छैन।

रेल्वे परियोजना बथनाहाबाट मोरङ कटहरी-१ सम्म १८.१ किलोमिटरको हो। बथनाहाबाट नेपालको सीमासम्म ५ र नेपा तर्फ ३ किलोमिटर लिक बिच्छ्याइएको छ।

कटहरी-२ सम्म तयार भएको ट्रयाकमा लिक बिछ्याउने तयारी छ। हुलाकी राजमार्ग उत्तर कटहरी-१ मा मालवाहक रेल ल्याइने योजना हो। तर, स्थानीय १५ जनाले जग्गाको मुआब्जा नलिई अदालत गएकाले कटहरी-१ मा ट्रयाक नै खुल्न सकेको छैन।

जिल्ला, उच्च हुँदै सर्वोच्च अदालत पुगेको मुद्दालाई सर्वोच्चले उचित मुआब्जा दिनु भन्ने आदेश गरेपछि अब निर्माण प्रकृया अघि बढ्ने देखिएको छ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जग्गाको मुआब्जा लिन आउन स्थानीय बासिन्दालाई अन्तिम पटक आग्रह गरिएको बताए। उनका अनुसार मुआब्जा लिन नआए जबरजस्ती निर्माण थालिनेछ।

नेपालतर्फको १३.१ किलोमिटर रेलवेका लागि नेपाल सरकारले ११९ बिघा जग्गा अधिग्रहण गरेर रु ५३ करोड मुआब्जा वितरण गरिसकेको छ। निर्माण प्रारम्भ भएको ६ वर्षमा १३ किलोमिटर रेलवेको काम आधा मात्रै सम्पन्‍न भएको छ।

 

 

 

प्रतिकृया दिनुहोस