पासपोर्ट सटही सीमा अब १५०० डलर मात्र
काठमाडौं- भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीले राहदानीवापत एक पटकमा २५ सय अमेरिकी डलरसम्म सटही सुविधा पाउने व्यवस्थालाई संशोधन गरेर १५ सयमा झारिएको छ।
नगद डलरको माग बढ्दै गएपछि राष्ट्र ब्यांकले २० कात्तिकमा नियम संशोधन गरेर सटही सीमा घटाएको हो। स्थल मार्गबाट तिब्बत र भारतबाहेकका सार्क मुलुक भ्रमणमा जाने नेपालीलाई सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा)का आधारमा पनि सटही सुविधा दिन राष्ट्र ब्यांकले वाणिज्य ब्यांकहरूलाई निर्देशन दिएको छ।
यस्तो सटही सुविधा पाउनेले एक पटकमा ५ सय अमेरिकी डलरसम्म सटही सुविधा पाउने छन्। यस्तै, एक आर्थिक वर्षमा १ हजार डलरभन्दा बढी सहटी सुविधा नदिने व्यवस्था केन्द्रीय ब्यांकले गरेको छ।
निजी भ्रमणबाहेक सरकारी निकाय तथा सार्वजनिक संघसंस्था, ब्यांक, वित्तीय संस्था वा अन्य औपचारिक विदेश भ्रमणमा जाने व्यक्तिका लागि भने जति पनि सटही दिने सुविधा राष्ट्र ब्यांकले दिएको छ।