विदेशबाट ऋण ल्याउने सीमा दोब्बर
काठमाडौं- नेपाल राष्ट्र ब्यांकले वाणिज्य ब्यांकहरूलाई विदेशबाट ऋण ल्याउन थप सहजीकरण गरिदिएको छ।
२० कात्तिकमा केन्द्रीय ब्यांकले परिपत्र गर्दै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न विदेशबाट ऋण ल्याउने सीमा दोब्बर गरेर प्राथमिक पुँजीको ५० प्रतिशत पुर्याएको छ। चुक्ता पुँजी र सञ्चित कोषको कुल रकमको एक चौथाइ मात्रै विदेशबाट ऋण ल्याउन पाउने व्यवस्थालाई संशोधन गर्दै दोब्बर बनाइएको हो।
विदेशी मुद्रामा ऋण लिएको रकम जलविद्युत् तथा सौर्य र वायुजस्ता नवीकरणीय ऊर्जा उत्पादन तथा प्रशारण लाइन निर्माण, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने व्यवस्था छ। विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि र लघुवित्त क्षेत्रमा कर्जा प्रवाह गर्न विदेशी ब्यांक तथा वित्तीय संस्थाबाट ऋण लिन राष्ट्र ब्यांकले छुट दिएको छ।
नेपालमा आन्तरिक पुँजी अभाव भएर तारन्तार तरलता संकट आइलागेपछि गत चैतमा केन्द्रीय ब्यांकले विदेशी ब्यांक तथा वित्तीय संस्थाबाट विदेशी मुद्रामा ऋण लिन पाउने बाटो खोलिदिएको हो।
भारतबाट पनि ऋण लिने सुविधा दिन ब्यांकरहरूले माग गरेपछि राष्ट्र ब्यांकले यस्तो सुविधा पनि दिएको थियो। पछिल्लो संशोधनले विदेशी ब्यांकबाट ऋण ल्याउने प्रक्रियाका लागि एजेण्ट नियुक्ती गर्ने सुविधा दिएको छ। र, एजेण्टलाई सेवा सुविधा दिने तथा प्रक्रियागत चरणमा लाग्ने खर्चसमेत तोकिएको सीमाभित्र रहेर भुक्तानी गर्ने सुविधा दिएको छ।
“यसअघि एजेण्ट राख्ने सुविधा थिएन, ब्यांकहरूको आग्रहपछि अहिले त्यस्तो सुविधा पनि दिएका छौं,” राष्ट्र ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने।
ब्यांकहरूले भनेअनुसार नियम संशोधन गर्दै गए पनि हालसम्म कुनै ब्यांकले विदेशबाट ऋण ल्याउन सकेका छैनन्। नेपालको क्रेडिट रेटिङ नै नभएको बताउँदै विदेशी ब्यांक तथा वित्तीय संस्थाले नेपाली वाणिज्य ब्यांकहरूलाई कर्जा दिन इन्कार गर्दै आएका छन्।
संसारभर सहुलियतपूर्ण वित्तीय लगानी गर्दै आएको अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत नेपाली ब्यांकहरूलाई कर्जा दिन ५ प्रतिशत अतिरिक्त ब्याज मागेपछि नेपाली ब्यांकरहरूले एजेण्ट नियुक्त गर्ने र ऋणको सीमा बढाउने माग राष्ट्र ब्यांकसँग गर्दै आएका थिए।