“वित्तीय अवस्था विश्लेषण गरेर मात्र शेयरमा लगानी गर्नूस्”
काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले वित्तीय अवस्था विश्लेषण गरेर मात्र शेयरमा लगानी गर्न आग्रह गरेका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणाली उद्घाटन गर्दै मन्त्री खतिवडाले लगातार तेस्रो वर्ष पनि ६ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएकाले शेयर बजार पनि सोही अनुपातमा माथि जाने बताए। लहडको भरमा शेयरमा लगानी गर्ने र मूल्य घट्दा अर्थ मन्त्रालयलाई दोष लगाउन नपाइने उनको भनाइ थियो।
शेयर बजारमा अनलाइन कारोबार शुरु हुनु असल शुरुवात भएको बताउँदै खतिवडाले यसमा रहेका कमी कमजोरी सुधार हुँदै जाने बताए। शेयर बजारको विकास र विस्तारका लागि बजारमा संस्थागत लगानीकर्ताको प्रवेश आवश्यक रहेको उनले औंल्याए। त्यसका लागि मन्त्रालयले काम गरिरहेको उनको भनाइ थियो।
२०३३ सालदेखि शुरु भएको शेयर कारोबारलाई पहिलो पटक अनलाइन प्रणालीमा लगिएको हो। ०६४ सालमा कम्प्युटर प्रणालीबाट शेयर खरिद बिक्री शुरु हुनुअघि बोलकबोल प्रणालीबाट कारोबार हुने गरेको थियो।
ब्रोकर कार्यालयका कर्मचारी अभ्यस्थ भएलगत्तै शेयर खरिद बिक्रीका लागि लगानीकर्ताको खाता खोल्न शुरु गरिने नेप्सेले जनाएको छ। त्यसपछि लगानीकर्ताले आफैं मोबाइल र कम्प्युटरबाट शेयर खरिद गर्न सक्नेछन्।
अनलाइन प्रणालीमा ५० माइक्रो सेकेन्डभित्र शेयर कारोबार म्याचिङ हुने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले जानकारी दिए। “अब ब्रोकरले शेयर किनिदिएन, बिक्री गरिदिएन, महँगोमा किन्यो भन्नेजस्ता लगानीकर्ताको गुनासो आउँदैन,” साउँदले भने।
स्टक ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले खरिद बिक्रीसँगै शेयर खरिद र बिक्रीवापतको रकम लिन ब्रोकर कार्यालय आउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताए।