आठौं राष्ट्रिय खेलकुद २ महीना पर सर्यो
काठमाडौं- पूर्वाधार अभावका कारण आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता दुई महीना पछाडि सारिएको छ ।
मंसिरमा प्रदेश-५ का विभिन्न स्थानमा हुने तय भएको प्रतियोगिता आगामी २५ माघ-१ फागुनमा गर्ने गरी तय भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले जानकारी दिए ।
नुवाकोटको ककनीमा बसेको परिषद् सञ्चालक समितिको बैठकले ८ मंसिरदेखि नेपालगञ्ज रंगशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रूपन्देहीका विभिन्न स्थानमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
“समयमै आवश्यक सबै पूर्वाधार निर्माण हुन सकेन, पूर्वाधार नबनाई प्रतियोगिता गर्दा समस्या हुन्छ। दुई महीना पर सार्दैमा केही फरक पर्दैन,” सदस्यसचिव बिष्टले भने, “ठेकेदारले काम ढिलो गर्लान् भनेर मिति सारेको निर्णय सार्वजनिक नगरेका हौं।”
उनका अनुसार २५ फागुन-५ चैतमा नेपालमा हुने तय भएको १३औं दक्षिण एशियाली खेलकूद (साग) पनि ६ महीना सार्ने प्रस्ताव गरिएको छ। सेप्टेम्बर २०१९ मा १३औं साग आयोजना गर्ने तयारी भइरहेको उनको भनाइ छ।
साग सार्ने प्रस्ताव परिषद्ले एनओसी हुँदै दक्षिण एशियाली ओलम्पिक काउन्सिललाई पठाउनेछ । त्यसपछि काउन्सिलको निर्णयअनुसार मात्र नयाँ मिति तय हुनेछ । “ओलम्पिक कमिटीसँग समन्वय गरेर हामीले सागपछि सार्ने प्रस्ताव गरेका छौं, यसबारे छिट्टै निर्णय हुन्छ,” उनले भने।
बिष्टका अनुसार राष्ट्रिय खेलकूदका भौतिक पूर्वाधार निर्माणका लागि रु ३३ करोड बजेट निकासा भइसकेको छ । आयोजनाका लागि पनि रु ३५ करोड आवश्यक पर्नेमा १७ करोड आइसकेको र बाँकी रकम दिन अर्थ मन्त्रालय तयार रहेको उनले जानकारी दिए।
युवा तथा खेलकूद मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपानेका अनुसार प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रंगशाला निर्माण सम्पन्न गर्न केही समय लाग्ने देखिएको छ। अन्य पूर्वाधारको काम पनि पूरा गर्न केही समय लाग्ने भएकाले प्रतियोगिता सारिएको उनको भनाइ छ। रासस