समाचारमंगलवार, कार्तिक २०, २०७५

गच्छदार कांग्रेस उपसभापति मनोनित

महासमिति बैठक सर्‍यो

हिमालखबर

काठमाडौं- कांग्रेस नेता विजयकुमार गच्छदार पार्टीको उपसभापति मनोनित भएका छन्।

विजयकुमार गच्छदार

मंगलबारको केन्द्रीय कार्यसमिति बैठकले गच्छदारलार्इ उपसभापति नियुक्त गरेको हो। कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकताका बेला भएको सहमतिअनुसार यस्तो निर्णय भएको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पार्टी एकताका बेला भएका सहमति पालना नभएको बताउँदै गच्छदारले असन्तुष्टी व्यक्त गर्दै आएका थिए। कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना, भ्रातृ एवं शुभेच्छुक संघसंस्थाको समायोजनसम्बन्धी प्रतिवेदन पेश गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय पनि मंगलबारको बैठकले गरेको छ।

यस्तै, ५-९ मंसिरका लागि तय भएको कांग्रेस महासमिति बैठक पनि २८ मंसिर-३ पुसका लागि सार्ने निर्णय बैठकले गरेको छ। दिपावली, नेपाल सम्बत्, छठलगायत नेपालीहरूका चाडपर्वका कारण महासमिति बैठक सार्नु परेको बैठकको निर्णयमा उल्लेख छ। चाडपर्वको समयमा केन्द्रीय कार्यसमिति बैठक बस्न व्यावहारिक नभएकाले महासमिति भेला सार्नु परेको पनि निर्णयमा उल्लेख छ।

प्रतिकृया दिनुहोस