समाचारमंगलवार, कार्तिक २०, २०७५

रानीपोखरी बालगोपालेश्वर मन्दिरको शैली पुनर्विचार गर्न निर्देशन

हिमालखबर

काठमाडौं- संस्कृति मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वर मन्दिरको गुम्बज शैलीमा पुनर्निविचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र पुरातत्व विभागका प्रतिनिधिहरूबीचको बैठकबाट उक्त निर्देशन आएको हो।

काठमाडौं महानगरले १३ पुस ०७४ मा गठन गरेको विशेषज्ञ समिति तथा प्राधिकरणबाट १८ कात्तिक ०७५ मा गठित विज्ञ समितिका प्रतिवेदनहरूले बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सुझाव दिएका छन्। पुरातत्व विभागले गुम्जब शैलीमा निर्माण थालेपछि विवादका कारण बीचमै रोकिएको थियो।

विज्ञहरूको प्रतिवेदनमा ग्रन्थकुटबाट गुम्बज शैलीमा निर्माण गर्दा मन्दिरको भूईंतला ग्रन्थकुटकै नाप नक्सामा निर्माण गरिएको उल्लेख छ। यस्तै, ग्रन्थकुट शैलीमा निर्माण भएको काठ बन्धन तथा शिलाको संगारलगायत भागहरू दुई पटक पुनर्निर्माण गर्दा पनि प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, दुई पटकको पुनर्निर्माणमा पनि गर्भगृहको गाह्रोको पर्खालको नाप नक्सा मल्लकालीन मन्दिरको नाप नक्साअनुसार नै निर्माण भएको विज्ञहरूले प्रतिवेदन दिएका छन्।

प्रतिकृया दिनुहोस