थप समाचारमंगलवार, कार्तिक २०, २०७५

“त्रिशुलको अर्थिङले बचाउँदैन चट्याङबाट”

हिमालखबर

पोखरा- घरको धुरीमा एउटा त्रिशुल ठड्यायो अनि त्यसबाट तामाको तार लगेर जमिनमुनि गाड्यो। चट्याङबाट जोगिन भनेर सामान्यतया धेरैले त्यसरी नै अर्थिङ गर्छन्। तर, विज्ञहरूको भनाइमा अहिलेको तरिकाले चट्याङबाट घर जोगाउन सकिँदैन।

फाइल तस्वीर

करोडौं, अर्बां खर्चमा बनेका ठूला भवनको अर्थिङ पनि भरपर्दो नभएको विज्ञहरू बताउँछन्। गृह मन्त्रालयअन्तर्गत् चलिरहेको परियोजना एसियाली विपद पूर्वतयारी केन्द्रका मानबहादुर थापा भन्छन्, “गतिलो अर्थिङलाई हरेक गाउँ र नगरपालिकाले अनिवार्य बनाउनुपर्छ।”

उनका अनुसार विकसित मुलुकमा भवनको मापदण्डभित्रै भरपर्दो अर्थिङ परेको हुन्छ। नेपालमा त्यस्तो नभएकैले हरेक वर्ष धेरै नेपालीले ज्यान गुमाउनुका साथै भौतिक संरचनाको पनि क्षति भइरहेको उनी बताउँछन्।

हरेक वर्ष चट्याङबाट नेपालीले ज्यान गुमाउने संख्या बढिरहेको सोही विषयमा विद्यावारिधि गरेका अमृत साइन्स कलेज काठमाडौंका प्राध्यापक श्रीराम शर्मा बताउँछन्। उनको भनाइमा चट्याङ पर्ने दर पनि बढ्दो क्रममा छ।

“खर्चिलो भएर होइन, नजानेर धेरैले राम्ररी अर्थिङ गरेका हुँदैनन्,” चट्याङविद् शर्मा भन्छन्, “राम्रो अर्थिङले ठूलो चट्याङबाट धेरै धनसम्पति जोगाउन सकिन्छ।”

यसअघि ललितपुरको फुल्चोकीमा टेलिकम र टेलिभिजनलगायत टावरहरूमा चट्याङ पर्ने समस्या थियो। सबै टावरमा सुरक्षित अर्थिङ गरिएपछि समस्या समाधान भएको शर्मा बताउँछन्।

उनको भनाइमा सबैभन्दा धेरै संख्याका नेपालीको ज्यान लिने प्राकृतिक प्रकोपमा पर्छ, चट्याङ। पोखरा पनि त्यसको जोखिम क्षेत्र हो। ०७२ सालको भूकम्पलाई छाड्ने हो भने ०६८ यता सबैभन्दा ठूलो प्राकृतिक प्रकोप चट्याङ देखिन्छ।

पोखरामा ०६८ देखि ०७४ सम्म चट्याङले ७७३ जनाको ज्यान गएको छ। त्यसपछिको आँकडा पहिरोको छ, जसमा परी ७३० जनाको मृत्यु भएको छ। बाढीमा परेर मृत्यु हुने ६६५ छन् भने आगलागीबाट ज्यान जानेको संख्या ४७५ छ।

पूर्वाधार निर्माणमा प्रत्यक्ष संलग्न रहने इन्जिनियरहरू नै चट्याङको जोखिम र न्यूनीकरणबारे जानकार नभएको शर्मा बताउँछन्। उनका अनुसार जलवायु परिवर्तनको एक जोखिमका रूपमा चट्याङ पर्ने समस्या बढिरहेको छ। नेपालको चुरे क्षेत्र आसपासको इलाका यसको जोखिममा रहेको विज्ञहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस