थप समाचारसोमवार, कार्तिक १९, २०७५

पूर्वराजदूत झाको हत्या अनुसन्धान अघि बढेन

हिमालखबर

काठमाडौं- पूर्वराजदूत केशवराज झाको हत्या अनुसन्धान अझै टुंगोमा पुगेको छैन।

७७ दिन बितिसक्दा पनि प्रहरीले हत्यामा संलग्न व्यक्ति र कारणबारे सुराकसम्म पाउन सकेको छैन।

गत ४ भदौमा काठमाडौं बबरमहलस्थित आफ्नै निवासमा झाको हत्या भएको थियो। उनको घाँटी र टाउकोमा धारिलो हतियार प्रहार भएको थियो।

प्रहरीले अनुसन्धानका क्रममा उनकै घरमा सहयोगीका रूपमा कार्यरत सानुकान्छा तामाङ, आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो। हत्यामा संलग्नता पुष्टी नभएपछि उनीहरूलाई छाडिसकिएको छ। तीनै जना जनही रु. ८ हजार धरौटीमा छुटेका हुन्।

पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु ‘घाँटीमा गहिरो चोट’का कारण भएको उल्लेख छ। प्रहरीको महानगरीय अपराध महाशाखाले हत्याराको सुराक नपाइएका कारण अनुसन्धान अगाडि बढ्न नसकेको बताएको छ।

प्रतिकृया दिनुहोस