थप समाचारसोमवार, कार्तिक १९, २०७५

नेकपा अध्यक्ष दाहाल पहिलो पटक पाञ्चालीमा

हिमालखबर

विराटनगर- पाञ्चाली भन्नासाथ विराटनगरको एक टोल मात्र बुझिँदैन, तत्कालीन एमालेको पार्टी कार्यालय रहेको स्थानका रूपमा पनि चिनिन्छ, जहाँ अहिले नेकपाको मोरङ जिल्ला कार्यालय छ।

पाञ्चालीस्थित नेकपा मोरङको कार्यालयमा अध्यक्ष प्रचण्डलगायत नेता।

सत्तारुढ नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार पहिलो पटक पाञ्चाली पुगेर पार्टी कार्यालयमा प्रवेश गरेका छन्।

नेकपा मोरङले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन सोमबार विराटनगर आएका दाहाल पाञ्चालीस्थित पार्टी कार्यालयमा गएका हुन्। शुभकामना आदानप्रदान र चियापान समारोहमा सहभागी भएर नेकपाका कार्यकर्तालाई उनले सम्बोधन गरे।

एमाले र माओवादीबीच एकता भएपछि उनी यसअघि पनि विराटनगर आएका थिए। तर, तीनपैनीस्थित पूर्वमाओवादीको कार्यालयमा मात्र गएका थिए। विमानस्थलबाट होटेल रत्नामा गएर खाना खाएपछि उनी दिनभर पाञ्चालीस्थित पार्टी कार्यालयमै रहेर अपरान्ह पुनः विमानस्थल पुगे।

नेकपा कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले पार्टी एकीकरण असाधारण काम भएको बताए। बिग्रिएका र सप्रिएकाहरू बीचको एकता भएको टिप्पणी गर्दै उनले चुनौतीका बीच पार्टी एकीकरण भएको बताए।

अध्यक्ष दाहाललाई भेट्न प्रदेशका मन्त्री, सांसद, झापा, मोरङ र सुनसरीका जिल्ला नेताहरू पाञ्चाली पुगेका थिए। दाहालसँगै नेकपाका महासचिव विष्णु पौडेल, कानून मन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायत नेता विराटनगर आएका थिए।

प्रतिकृया दिनुहोस