चिनियाँ युआन दशककै कमजोर
हङकङ- चिनियाँ मुद्रा युआन अमेरिकी डलरको तुलनामा दशकयताकै कमजोर अवस्थामा पुगेको छ।
गत साता चिनियाँ बजारमा एक अमेरिकी डलरको मूल्य ६.९६ युआन पुगेको थियो। अमेरिकी डलरको तुलनामा चिनियाँ युआन मे २००८ पछिको कमजोर बनेको हो। चीनले भने बजारलाई मनोवैज्ञानिक प्रभाव पर्न नदिन एक अमेरिकी डलर बराबर ७ युआनभन्दा कम मूल्य नहुने दाबी गर्दै आएको छ।
अमेरिकासँगको करका कारण भइरहेको व्यापार विवाद कायम रहेसम्म चिनियाँ युआन कमजोर नै रहने सम्भावना रहेको केजीआई एसियाका कार्यकारी निर्देशक बेन कोङले ब्लुमबर्गलाई बताए।
अमेरिकी डलरसँग चिनियाँ युआन अवमूल्यन भएसँगै चिनियाँ नागरिकले अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्न थालेका गरेका छन्। ब्रेकिङ-७ ले अमेरिकी डलरसँगको कमजोर अवस्थाले चिनियाँ बजारको व्यावसायिक विश्वास थप गुम्नसक्ने आकलन गरेको छ।
चीनले जानाजान युआनलाई थप कमजोर बनाएको अमेरिकाले आरोप लगाएको छ। चिनियाँ सामानमाथि अमेरिकाको करवृद्धिलाई देखाउने र यसअघि गर्दै आएको मौद्रिक ‘म्यानिपुलेसन’लाई वैध बनाउने चीनको रणनीति भएको अमेरिका बताउने गरेको केजीआई एसियाका कार्यकारी निर्देशक कोङले बताए।
अमेरिकाले भने चिनियाँ युआनमा अहिले मात्र प्रभाव परेको नभई यसअघि नै चिनियाँ मुद्राको अवमुल्यन भएको दाबी गरेको छ। चीनले विश्व समुदायलाई झुक्काएको आरोप अमेरिकाको छ। अमेरिकाले गरेको करवृद्धिपछि आफ्नो उत्पादनको प्रतिस्पर्धी मूल्य कायम राख्न चीनले युआन अवमूल्यन गरेको आरोप पनि अमेरिकाको छ।
मूल्य स्थिर रहने चिनियाँ दाबी
चीनले युआनको दैनिक मूल्य निर्धारणमा कडाइ अपनाएको छ। गत मंगलबार राज्य सञ्चालित ‘इकोनोमिक इन्फर्मेसन डेली’को प्रथम पृष्ठमा प्रकाशित समीक्षात्मक लेखमा अधिकारीहरूले अमेरिकी मूल्यसँग सात युआन कायम गर्ने तर त्यसबाट तल झर्न नदिइने उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङको व्यापार नीति परिवर्तन गर्न बाध्य पार्ने उद्देश्यले चिनियाँ सामानमाथि अर्बौं डलर बराबरको कर थोपरेका छन्।
कोङले भने, “अमेरिकी डलरसँग आफ्नो मुद्रालाई ७ युआनभन्दा तल नझार्ने चिनियाँ अधिकारीहरूले पहिल्यै संकेत गरिसकेका छन्। त्यसभन्दा घट्ने अवस्था अहिलेलाई छैन।”
वासिङ्टनले चीनमाथि मुद्राको अवैध नियन्त्रण गरेको आरोप लगाएको छ, जसले व्यापार युद्धलाई थप चर्काउने सम्भावना छ। विश्वका शक्तिशाली अर्थतन्त्र चीन र अमेरिकाको व्यापार युद्धले बाँकी विश्वमा समेत तरंग पैदा गरेको छ। एएफपी-रासस