थप समाचारसोमवार, कार्तिक १९, २०७५

‘स्ट्रिट लाइट’को विकल्प कृत्रिम चन्द्रमा

हिमालखबर

पूर्णिमा या जुनेली रात भन्नासाथ पूर्ण चन्द्र अर्थात् चम्किलो चन्द्रमाको उज्यालो याद आउँछ। पृथ्वीको एउटै प्राकृतिक भूउपग्रह छ, जसलाई अंग्रेजीमा ‘मुन’ र नेपालीमा चन्द्रमाको नामबाट चिनिन्छ। तर, चीनमा भइरहेको प्रयास सफल भए नेपालको उत्तरी छिमेकीको आकाशमा निकट भविष्यमै अर्को पनि चन्द्रमा उदाउनेछ, राति।

तस्वीर स्रोत- गेट्टी इमेज

चीनको सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छेन्दुस्थित एक निजी एरोस्पेस संस्थाले सन् २०२० सम्ममा पृथ्वीको कक्षमा एक उज्यालो स्याटेलाइट प्रक्षेपण गर्ने तयारी गरिरहेको छ। उक्त स्याटेलाइट सञ्चालनमा आएपछि चीनका सडकमा ‘स्ट्रिट लाइट’ जडान गर्नुपर्ने छैन।

यससम्बन्धी विस्तृत योजना सार्वजनिक भएको छैन। छेन्दु एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी माइक्रोइलेक्ट्रोनिक्स सिस्टम रिसर्च इन्स्टिच्युटका अध्यक्ष वु चुङ्फेङका अनुसार उक्त योजना अन्तिम चरणमा पुगेको छ। वुको भनाइ उद्धृत गर्दै चाइना डेलीले प्रकाशित गरेको समाचारअनुसार त्यसका लागि तीन वटा स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना छ।

चाइना डेलीका अनुसार सिसाले जस्तै काम गर्ने मानव निर्मित चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिविम्बित गरेर धर्तीमा पठाउनेछ, जुन जमिनमा ५ सय किलोमिटरको दूरीमा स्थिर रहन्छ। अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसए) ले यही दूरीबाट पृथ्वीको परिक्रमा गरिरहेको छ।

पृथ्वीबाट प्राकृतिक चन्द्रमाको दूरी ३ लाख ८० हजार किमि हुनेछ। त्यसबाट प्राकृतिक चन्द्रमाबाट ८ गुणा बढी प्रकाश प्राप्त गर्न सकिनेछ। र, यो चन्द्रमाको किरणलाई जमिनबाटै नियन्त्रण पनि गर्न सकिनेछ।

छेन्दु एरोस्पेसका अधिकारीहरूका अनुसार नक्कली चन्द्रमा प्रक्षेपण गर्नुको उद्देश्य स्ट्रिट लाइटका लागि हुने खर्च बचाउनु हो। स्ट्रिट लाइटको खर्चको तुलनामा यो सस्तो पर्ने अधिकारीहरूको दाबी छ।

चाइना डेलीका अनुसार नक्कली चन्द्रमाका कारण बिजुलीको खर्चमा वर्षेनी १.२ अर्ब युआन अर्थात् १७.३ करोड अमेरिकी डलर बचत गर्न सकिने अनुमान छ। अहिले जुनेली रातबाहेक राति कुनै प्राकृतिक उज्यालो प्राप्त गर्न सकिँदैन। कृत्रिम चन्द्रमाबाट त्यसको अभाव पूर्ति गर्ने एरोस्पेसका अधिकारीहरूको सोच हो।

वैज्ञानिकहरू राति उज्यालो उपलब्ध गराउने चिनियाँ सोच असम्भव नरहेको बताउँछन्। तर, त्यसका लागि स्थिर कक्ष आवश्यक हुने उनीहरूको भनाइ छ।

केही वैज्ञानिकहरू भने राति विचरण गर्ने वन्यजन्तुको गतिविधिमा यसले असर पुर्‍याउने दाबी गर्छन्। चीनमा यसअघि नै उज्यालोका कारण प्रदुषणको समस्या छ। सबै रात चहकिलो उज्यालोका कारण यस्तो प्रदुषण अझ बढ्ने केही शोधकर्ताको भनाइ छ।

यसअघि पनि रातलाई उज्यालो बनाउन नक्कली चन्द्रमा निर्माणको योजना बनेको थियो। सन् १९९३ मा रुसका वैज्ञानिकहरूले २० मिटर चौडाइ भएको एक रिफ्लेक्टर मिर स्टेप स्टेशनतर्फ पठाएका थिए। त्यस रिफ्लेक्टरको कक्ष २०० देखि ४२० किमिबीचमा थियो।

नाम्या-२ नामक स्याटेलाइट पृथ्वीको ५ किलोमिटरको व्यासमा पठाइएको थियो, जुन जलेर नष्ट भयो। सन् १९९० दशकको अन्त्यमा नाम्याको एउटा ठूलो मोडेल बनाउने प्रयास गरिएको थियो। त्यो पनि सफल हुन सकेन। (एजेन्सीहरूको सहयोगमा)

प्रतिकृया दिनुहोस