समाचारसोमवार, कार्तिक १९, २०७५

निजगढ विमानस्थल निर्माणको आधार बनेपछि मात्रै रुख कटानको अनुमति दिन्छुः वनमन्त्री बस्नेत

हिमालखबर

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधार बनेपछि मात्रै रुख कटानको अनुमति दिने बताएका छन् ।

आफ्नै कार्यकक्ष सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको छलफलमा बस्नेतले विमानस्थल मुलुकको आवश्यकता भएपनि कम भन्दा कम वातावरणीय क्षतिमा निर्माण सक्नुपर्ने बताएका हुन् ।

विमानस्थल निर्माणबारे वन तथा वातावरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच नियमति छलफल भइरहेको जानकारी दिँदै उनले दुई मन्त्रालयबीच कुनै विमति नरहेको पनि स्पष्ट पारेका छन् ।

विमानस्थल निर्माणलाई प्रभावित पार्ने नियतका साथ तर्क गर्नेहरुलाई सरकारले सम्बोधन गर्न नसक्ने भन्दै मन्त्री बस्नेतले सकारात्मक चासो, चिन्ता र जैविक विविधताको संरक्षणबारे उठाइएका प्रश्नको भने सम्बोधन गर्ने बताए ।

उनले भने “ वातावरण र विकासबीचको सन्तुलन मिलाएर मात्रै अगाडि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण छ ।”

उनले निजगढ विमानस्थलका सम्बन्ध छुट्टै कोष बनाएर कोषमा क्षतिपूर्ति वापत् आउने रकम वृक्षारोपणको लागि खर्च गर्ने मन्त्रालयको योजना रहेको बताएका छन् ।

मन्त्रालयले विभिन्न निकायलाई हालसम्म मुलुकभर १६ हजार ७१६ हेक्टर वन क्षेत्र उपलब्ध गराइसकेको छ ।

त्यस्ता आयोजनाले सम्झौताको शर्तअनुसार क्षतिपूर्ति नतिर्ने, वृक्षरोपण नगर्ने र गरे पनि देखाउन मात्र गर्ने गरेका छन् । यस्तो समस्या समाधानका लागि पनि मन्त्रालयले चासो देखाएको उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस